काली गण्डकीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गछौँ : मुख्यमन्त्री पोखरेल

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताउनुभएको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री पोखरेलले नवलपुरको त्रिवेणी, गजेन्द्रमोक्ष धामदेखि मुस्ताङको दामोदरकुण्डसम्मको क्षेत्रलाई धार्मिक करिडोरको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

प्रदेशभर रहेका धार्मिक पिठका प्रमुखहरुलाई एक ठाउँमा भेला गराएर संयुक्त अवधारणा बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । धर्मलाई संस्कृति, समाजसेवा र विविध क्रियाकलापमा जोड्न सके आर्थिक क्रियाकलाप समेत बढ्ने उहाँले बताउनुभयो ।

कालीगण्डकी नदी केबल नदी नभएर सभ्यता, संस्कृति र सम्पदा रहेको भन्दै उहाँले भन्नुभयो , ‘यसैको महत्व र सम्भाव्यता अध्ययनका लागि गण्डकी प्रदेश सरकारले समिति गठन गरेको छ, कालीगण्डकीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि समेत हामी पहल गर्छौं । ”

कार्यक्रममा सम्मानित व्यक्तित्व वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसले धर्मसँग जोडिएको संस्थाले संस्कृति र समाजसेवाको क्षेत्रलाई अगाडि बढाउन देखाएको क्रियाशीलताप्रति उहाँले प्रशंसा गर्नुभयो ।  सिर्जनशीलताकै कारण मानव जीवन सार्थक हुने भन्दै कला, साहित्य, संस्कृतिको क्षेत्रमा लागेका व्यक्ति कहिल्यै पूर्व नहुने भनाइ राख्नुभयो ।

धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले लामो आरोहअवरोह पार गरेर समिति अहिलेको अवस्थामा आइपुगेको बताउँदै समितिका क्रियाकलापलाई अझ प्रभावकारी बनाउन आफूहरु अहोरात्र खटिएको बताउनुभयो ।

समिति सचिव तीर्थ श्रेष्ठले लकडाउनको सदुपयोग गर्दै विन्ध्यवासिनी माताको मूर्ति जिर्णोद्धार गरिएको जानकारी दिनुभयो । निकै जीर्ण भएको मुर्ति पुरातत्व विभागको स्वीकृतिमा जिर्णोद्धार गरिएको भन्दै उहाँले अब मुर्तिमा अक्षता र फूल चढाउन रोक लगाइएको जानकारी दिनुभयो ।
समितिका पूर्व अध्यक्ष हेमबहादुर प्रधानले स्थापना गरेको हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार यो वर्ष वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसले प्राप्त गर्नुभयो ।

यो पुरस्कार हरेक २ वर्षमा प्रदान गरिन्छ । २०७६ को यो पुरस्कार महिला सशक्तीकरणकामा सक्रिय दुर्गा घिमिरेलाई प्रदान गर्न निर्णय भए पनि उनी उपस्थित हुन सकिनन् । समिति सचिव तीर्थ श्रेष्ठले घिमिरेको घरमै पुगेर पुरस्कार अर्पण गरिने जानकारी दिनुभयो । पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।

उक्त अवसरमा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्त रोहितराज बास्तोलाई बधाई अर्पण समेत गरिएको थियो । बास्तोला समितिका कानुनी सल्लाहकार हुनुहुन्छ ।

१९९८ असारमा धनकुटामा जन्मिएका दिवससानैदेखि कला, साहित्य, संस्कृतिमा रुचि राख्ने दिवस उच्च शिक्षको अध्ययनसँगै साहित्यतर्फ मोडिएका थिए । उहाँ संस्कृतिको अनुसन्धानमा पनि अनवरत क्रियाशील छन् । दुर्गा घिमिरे ४ दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

Comments
Loading...