आर्थिक पत्रकारिता पुरस्कारबाट शर्मा सम्मानित

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित हुनुभएको छ । पोखरा उद्योग वाणिज्य संघले पुरस्कारको स्थापना गरेको हो ।

संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार शर्मालाई सो पुरस्कारबाट सम्मानित गर्नुभयो । पुरस्कारको राशी नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला रहेको छ । शर्मा कान्तिपुुर राष्ट्रिय दैनिकका गण्डकी ब्यूरो प्रमुख हुन् ।

पोखरा उद्योग वाणिज्य संघले पत्रकारिताका माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धिमा सघाउने पत्रकारलाई हरेक २ वर्षमा सो पुरस्कारबाट सम्मानित गर्दै आएको छ । संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित पत्रकार छनौट समितिको सिफारिसको आधारमा शर्मा पुरस्कृत हुुनुभएको हो ।

सो समितिमा संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी तथा निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ सदस्य हुनुहुन्थ्यो । यसअघि यो पुरस्कारबाट पत्रकारहरु सन्तोष पोखरेल, रुपनारायण ढकाल र भरत कोइराला सम्मानित भइसक्नुभएको छ।

Comments
Loading...