‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल फाइनलमा

हिमाली आवाज । स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्धेश्यीय कभर्डहलमा आज सम्पन्न खेलमा ‘द राइजिङ’ क्लब धरानलाई ८–६ को गोल अन्तरले पराजित गर्दै घरेलु टोली क्यासल फाइनल प्रवेश गरेको हो । खेलमा क्यासलले सुरुआति अग्रता बनाएपनि जितका लागि अन्तिमसम्म कडा संघर्ष गर्नुपरेको थियो ।
क्यासललाई जित दिलाउन किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक गर्नुभयो भने सुरज गुरुङ र विजय गुरुङले समान एक÷एक गोल गर्नुभयो ।
राइजिङका हेमन्त थापा मगर, सुदिप गुरुङ र मिलन राईले दुई दुई गोल गर्नुभयो । खेलको ‘म्यान अफ दि म्याच’ स्पोर्ट्स क्यासलका किशोर गुरुङ चुनिनुभयो । उहाँले नगद रु पाँच हजार पुरस्कार पाउनुभयो ।

क्यासल लिग तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्लेअफ’मा पुगेको थियो । यस्तै राइजिङले पनि दोस्रो स्थानमा रहँदै ‘प्लेअफ’को यात्रा तय गरेको थियो ।

यसैगरी आज शङ्खमुल फुटसल क्लब र सविन मेमोरियलबीचको ‘इलिमिनेटर’ खेलमा शङ्खमुल विजयी भएको छ । शङ्खमुलले ३–२ को गोल अन्तरले खेल जित्न सफल भयो ।

शङ्खमुलका कृजल खड्काले दुई तथा जेनिश प्रजापतिले एक गोल गर्नुभयो । शङ्खमुलले अब फाइनल प्रवेशका लागि बिहीबार ‘द राइजिङ’ क्लब धरानसँग खेल्ने छ ।सविनका सरोज गुरुङ र मनोज गुरुङले गोल गर्नुभयो ।

अखिल नेपाल फुटबल सङ्घले देशमा पहिलो पटक फुटसल लिग आयोजना गरेको हो । गत असोज २ गतेदेखी सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल असोज २२ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

लिगको विजेताले रु १० लाख,ट्रफी तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्ने लिग संयोजक एवम् एन्फा फुटसल विभाग प्रमुख विनोद गुरुङले जानकारी दिनुभयो ।

लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Comments
Loading...