कालापानी लिपुलेक क्षेत्रमा जनगणना गर्न अखिलको माग

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को भ्रातृसंगठन– अनेरास्ववियुले भारतले अतिक्रमण गरेको दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कालापानी क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।

अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल वैकल्पिक व्यवस्थाबाट जनगणना गर्न माग गर्नुभयो ।

विज्ञप्तिमा जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि सुरक्षा चुनौती भएकोले सरकारले तत्काल द्विपक्षीय कुटनीतिक वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने उल्लेख छ ।

‘जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्नेगरी नेपाली बस्ती र नेपाली नागरिकको सूचिकरण गर्न जनगणना सुपरीक्षक पठाउन परराष्ट्र मन्त्रालयसँग जोडदार माग गर्दछौं,’ अखिलले विज्ञप्तिमा ‘यी क्षेत्रमा जनगणना नगरिए अनेरास्ववियू संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछ’ भनिएको छ ।

Comments
Loading...