हिमाली आवाज । घरेलु टोली स्पोर्ट्स क्यासलले पोखरामा सञ्चालन भएको नेपालको पहिलो ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको उपाधि जितेको छ ।
पोखरा रङ्गशालाभित्रको बहुउद्धेश्शीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा काठमाडौँको शङ्खमुल फुुटसल क्लबमाथि ४–२ अन्तरको जित निकाल्दै क्यासल च्याम्पियन बनेको हो ।
उपाधि विजेता क्यासलले रु १० लाख पुरस्कार सहित ट्रफी प्राप्त ग¥र्यो भने उपविजेता बनेको शङ्खमुलले रु पाँच लाखमा चित्त बुझाउन बुझायो ।पहिलो संस्करणको प्रतियोगितामा पोखरेली क्लब स्पोर्ट्स क्यासललाई उपाधि दिलाउन किशोर गुरुङले ह्याट्रिक गर्नुभयो भने विजय गुरुङले एक गोल गर्नुभयो । शङ्खमुलका लक्ष्मण थापा मगर र मणि लामाले समान÷एक गोल गर्नुभयो ।

लिगको उदीयमान खेलाडी स्पोर्टस् क्यासलका सुमित श्रेष्ठ घोषित हुनुभयो । उत्कृष्ट गोल किपर शङ्खमुलका अनिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर फुटसल ५ धरानका विजय श्रेष्ठ,उत्कृष्ट विङ्गर शङ्खमुलका मणि लामा र उत्कृष्ट प्रशिक्षक क्यासलका विष्णु गुरुङ घोषित हुनुभयो । उहाँहरु सबैले जनही रु २५ हजार पुरस्कार पाउनुभयो ।
लिगको विजेता तथा उपविजेता सहित पाँच विधामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे),अखिल नेपाल फुटबल सङ्घ(एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले ट्रफी तथा मेडल पुरस्कार वितरण गर्नुभएको थियो ।
अखिल नेपाल फुटबल सङ्घले देशमा पहिलोपटक राष्ट्रिय फुटसल लिग आयोजना गरेको हो । गत असोज २ गतेदखी सुरु भएको प्रतियोगितामा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका थिए ।