माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको हो : स्वास्थ्यमन्त्री खतिवडा

हिमाली आवाज । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक रुपमा झेली र बेइमान भएको आरोप लगाउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावली लगायतका चाडपर्वका अवसरमा आज पोखरासभागृहमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले दुई तिहाई बहुमतको सरकार र शक्तिशाली कम्युनिष्ट पार्टी ओलीका कारण समाप्त भएको बताउँदै बालुबाटरबाट बालकोटको बार्दलीमा पुगेका ओली अब बगरमा पुग्ने अवस्था आउने उल्लेख गर्नुभयो ।

गत निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याएको नभई  माओवादीसँगको गठबन्धनबाट मात्र अघिल्लो निर्वाचनमा एमाले र बामगठबन्धनको बहुमत आएको उहाँले बताउनुभयो ।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहनुभएका नेता खतिवडाले नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गर्नुभयो ।

गठबन्धनलाई अघि बढाउँदै संविधान जोगाउने शर्तमा आगामी निर्वाचन गठबन्धन बनाएर लड्ने बताउनुभयो ।वर्तमान सरकारलाई परमादेशको सरकार भन्नुको कुनै अर्थ नरहेको भन्दै मन्त्री खतिवडाले निर्वतमान प्रधानमन्त्री केपी ओली जसरी सांसदको हस्ताक्षरबाट प्रधानमन्त्री नियुक्त हुनुभयो, अहिलेका प्रधानमन्त्री पनि सोही अनुसार नियुक्त हुनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“अहिलेको सरकार परमादेशको सरकार होइन, संविधान बमोजिम राष्ट्रपतिकामा बहुमत सांसद गएका हौँ । केपी ओली बन्दा जसरी सांसदको दस्तखत गरेर सरकार बनेको हो, अहिले पनि त्यही सांसदका दस्तखतबाट सरकार निर्माण भएको छ ।”

स्वास्थ्यमन्त्री खतिवडाले गण्डकी प्रदेशमा सङ्घीय सरकार मातहतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मात्र रहेकाले सो अस्पतालको सेवा थप प्रभावकारी बनाउनका लागि सबैसँग छलफल गरेर सुझावका आधारमा आफूले काम गर्ने बताउनुभयो ।
पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले पार्टीको पछिल्लो बैठकले लिएका नीति,कार्यक्रम तथा कार्ययोजनालाई तल्लोतहसम्म लैजान कार्यकर्तालाई आग्रह गर्नुभयो ।

जिल्ला अध्यक्ष धनराज आचार्यले जिल्लाका ७२ वटै वडामा पार्टी कमिटी निर्माणको काम अघि बढिरहेको जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन सचिव होमबहादुर नेपालीले गर्नुभएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का, स्वास्थ्यमन्त्री मधु अधिकारी,एकीकृृत समाजवादीका पोलिटब्युरो तथा केन्द्रीय सदस्यहरु, अन्य राजनीतिक दलका जिल्लास्थित नेता, उद्योगी व्यवसायी लगाएको सहभागिता रहेको थियो ।

Comments
Loading...