माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारीको प्रथम अधिवेशन,अध्यक्षमा अधिकारी

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारी संस्था सञ्चालक समितिको अध्यक्षमा लेखनाथ अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

‘हाम्रो प्रतिवद्धता सम्पुर्ण किसानहरुको एकता’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३, घाचोकको साविक वडाहरु ५,६,७,८ र ९ का अतिविपन्न, दलित तथा सिमान्तकृत किसानहरुको जीवनस्तर उकास्ने उदेश्यका साथ शुरु भएको सो सहकारीको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले शनिबार अधिकारीको अध्यक्षतामा ११ सदस्सीय सञ्चालक समिति चयन गरेको हो ।

सहकारीको सचिवमा पदम नेपाल र लेखा समिति संयोजकमा रुद्र रानाभाट चयन हुनुभयो। नवनिर्वाचित टिमलाई कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सूर्य प्रसाद लम्सालले सपथ ग्रहण पनि गराउनु भएको थियो । साथै निर्वाचन मण्डलको संयोजकमा गोपाल पोखरेल र सदस्यहरुमा नारायण दवाडी र फुलमाया नेपाली हुनुहुन्थ्यो ।

कार्यक्रममा पिपलबोट दुग्ध उत्पादक सहकारी संस्थाका सचिव गोपाल पोखरेलले अब घाचोकमा उत्पादन हुने सबै दुधलाई एकै ठाउँमा संकलन गरेर त्यसलाई प्याकेजिङ गरि उद्योगको रुपमा लैजानको लागि वडा कार्यालय र घाचोक दुग्ध सहकारीले विशेष भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रविलाल पोखरेलले समग्र घाचोकको विकासको लागि राजनैतिक स्वार्थ र गुट उपगुटलाई त्यागेर हामी एकजुट हुनुपर्छ भन्ने कुरामा जोड दिनुभएको थियो ।

सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघका जिल्ला सदस्य केशवराज पोखरेलले उत्पादनमुखी सहकारीहरुले शेयर सदस्यहरुको फाइदा भन्दापनि किसानहरुको सेवा र सुबिधामा जोड दिनुपर्छ भन्नुभयो । वडासदस्य रेशम कुमार नेपालीले संस्थाले छोटो समयमा राम्रो प्रगति गरेको र अब उप्रान्त दिनहरुमा सबैको सहकार्यले अझै सफलता हासिल गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

साधारणसभामा जटायु संरक्षण तथा गौरक्षक केन्द्रका सचिव राजेन्द्र पोखरेल, सुनौलो पाटन आमा कृषि सहकारी संस्थाका संरक्षक नारायण दवाडी, युवा समाजसेवी शिव प्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष, सचिव र कोषाध्यक्षले आ–आफ्नो प्रतिवेदन पेश गर्नुभएकामा सभाले पारित गरेका छ । संस्था स्थापनामा महत्त्वपूर्ण सहयोग गर्नुहुने संघसंस्था र व्यक्तिहरुलाई विषेश सम्मानका साथै बर्ष भरीमा सहकारीको दूध संकलन केन्द्रमा धेरै दूध संकलन गर्ने र गुणस्तरको दूध संकलन गर्ने दुईजना किसानहरुलाई सहकारीले पुरस्कृत पनि गरेको छ ।

Comments
Loading...