गण्डकी साक्षर प्रदेश घोषणा, प्रजातन्त्रको विकल्प प्रजातन्त्रनै होः प्रधानमन्त्री

हिमाली आवाज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताउनुभएको छ ।

गण्डकी प्रदेश सरकारद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहमा उहाँले प्रजातन्त्र कसैले खोस्न नसक्ने र यसको खिलापमा कसैले सपना नदेखे हुने स्पष्ट पार्नुभयो ।

गण्डकी प्रदेशलाई साक्षर घोषणा गरी साक्षर प्रदेशको बासिन्दा भएकोमा प्रदेशवासीलाई बधाइ व्यक्त गर्दै उहाँले नेपालको संविधानमा शिक्षालाई मौलिक हकको रुपमा राखिएको बताउनुभयो । शिक्षा मौलिक हक भएकोले सबैले पाउनुपर्ने उहाँको भनाइ छ ।

देशमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको प्रयासलाई अन्तर्राष्ट्रिय जगत र विश्व स्वास्थ्य संगठनले पनि सह्राहना गरेको उहाँले बताउँनुभयो । साक्षरता र समृद्धिको बीचमा सोझो सम्बन्ध भएको कुरा विभिन्न अनुभव र अध्ययनले प्रमाणित गरेको उहाँको भनाइ छ ।
साक्षर र बाँकी निरक्षरको तथ्याङ्क एकिन गरी त्यस अनुरुप थप कार्यक्रम सञ्चालनका साथै बजेटको बन्दोवस्त एवम् साक्षरलाई निरन्तरताका अवसर सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा सम्भावना नै सम्भावना रहेको बताउँदै यसलाई उजागर गर्न संघ सरकारको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

प्रदेशको लाइफ लाइनका रुपमा रहेको त्रिवेणीदेखि कोरोलासम्मको मार्ग निर्माणका साथै विभिन्न सडक पूर्वाधार विकास गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । कतिपय आयोजना तथा कायक्रम जग्गा प्राप्त हुन नसक्दा अघि बढाउन नसकिएको बताउँदै मुख्यमन्त्री पोखरेले त्यसका आवश्यक सहजीकरण तथा सहयोग गरिदिन आग्रह गर्नुभयो ।

दक्षिण एशियाली खेलकुदका विभिन्न खेल सम्पन्न गरेको पोखरा रङ्गशालामा रात्रीकालिन खेलकुदका लागि बत्तिको व्यवस्थापनका साथै उपकरण जडानका लागि आवश्यक बजेट व्यवस्था गरिदिन पनि उहाँले प्रधानमन्त्रीको ध्यानकर्षण गराउनुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाललाई शिक्षित नागरिकको देशका रुपमा चिनाउनुपर्नेमा जोड दिनुभयो । साक्षर प्रदेश घोषणासँगै निरन्तर शिक्षाका लागि जोड दिनुपर्ने उहाँको जोड छ ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, प्रदेश प्रमुख सचिव डा.दामोदर रेग्मी लगायतले गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा हुनु समग्र प्रदेशवासीको गौरवको विषय भएको बताउनुभयो ।

Comments
Loading...