खेलकुद परिषद् गण्डकीद्धारा योजना कार्यान्वयन गर्न जिम्मेवारी तोकियो

हिमाली आवाज । गण्डकी प्रदेश खेलकुद परिषद्ले चालू वर्षका योजना कार्यक्रम कार्यान्वयन तथा सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ ।

परिषद्को आज सम्पन्न कार्यकारी समिति बैठकले विभिन्न २८ वटा योजनाहरुका लागि संयोजक तोकेर जिम्मेवारी बाँडफाँट गरेको हो ।
प्रदेशको खेलकुद विकासका लागि आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रदेश र सङ्घीय सरकारबाट विभिन्न योजनाहरुमा प्राप्त बजेट सँगै योजना कार्यान्वयनका लागि परिषद्का सदस्यहरुलाई जिम्मेवारी सुम्पिएको सदस्य सचिव तेज बहादुर गुरुङले जानकारी दिनुभयो ।

योजनाहरुको सफलतापूर्वक सञ्चालन गर्न संयोजक सहित तीन सदस्सीय समिति गठन गरेको जनाउँदै परिषद्ले परिषदका सबै सदस्यहरुलाई जिम्मेवारी दिएको छ ।परिषद्ले स्रोतहरुको खोजी गर्दै योजनाको सफल कार्यान्वयनमा लागिपर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

सदस्य सचिव गुरुङले भन्नुभयो,“ हामीले तय गरेको चार वटा रणनीतिक आधार स्तम्भमो खेलकुद विकासलाई अघि बढाएका छौ । यस वर्ष सोचे जस्तो गरी बजेट नभएपनि खेलकुद मन्त्रालयसँगको समन्वयमा खेलकुदको विकास योजना अघि बढाउँछौँ ।”परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङलाई यूवा स्वरोजगार कार्यक्रमको संयोजक तोकिएको छ ।

कार्यकारी सदस्य दिल बहादुर गुरुङलाई विभिन्न योजनाहरुको कार्यविधि, मापदण्ड निर्धारण र खेलाडी कल्याण कोष, कार्यकारी सदस्य ऋषिराम गौतमलाई आधारभुत खेल मैदानहरुको स्तरोन्नति तथा जिल्लाहरुमा पूर्वाधारहरुको लगत सङ्कलन गर्ने जिम्मेवारी दिएको छ ।

कार्यकारी सदस्य तारा माया थापा मगर लाई प्रदेशको प्राथमिकताका आधारमा खेलहरुको वर्गिकरण र पोखरा रङ्गशालामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न जिम्मेवारी दिइएको छ ।

त्यस्तै रेफ्री स्वयंमसेवक प्रशिक्षण, खेलकुद शिक्षकहरुका लागि प्रशिक्षणको संयोजकमा निर्मला बराल।‘ट्यालेन्ट हन्ट’ कार्यक्रम अन्तर्गत खगेन्द्र क्षेत्री संयोजक तोकिनुभएको छ ।

प्रदेश भित्र ‘वाटर स्पोर्टस्’को अध्ययन अनुसन्धान, साहशिक खेलकुदको प्रवद्र्धनका लागि वसन्तराज दवाडी, खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव तथा प्रदर्शनका लागि योगिता कुमारी मल्ल सहनी, सक्रिय खेलाडीसँगै पूर्व खेलाडीहरुको व्यक्तिगत र समुहगत तथ्याङ्क र सूचना प्रविधिको संयोजकको जिम्मेवारी केशव पाठकलाई दिइएको छ ।

अपाङ्गता खेलकुदको प्रतियोगिता सञ्चालनका लागि अमृत बराल, ११ वटै जिल्लामा सडक दौड प्रतियोगिता आयोजना गर्ने संयोजकमा योगेन्द्र गुरुङ, पोखरा रंगशाला भित्र खानेपानीको व्यवस्थापनका लागि योगेन्द्र शेरचन र खेलकुद पुस्तकालयको स्थापनाको लागि शुभकन्या गुरुङलाई जिम्मेवारी दिइएको छ ।

प्रशिक्षक प्रशिक्षण प्राविधिकतर्फको संयोजकमा कृष्ण तिमिल्सिना र परम्परागत खेलहरुको संरक्षण, प्रवद्र्धन तथा प्रतियोगिता सञ्चालनको लागि रामचन्द्र थापालाई जिम्मेवारी दिइएको सदस्य सचिव गुरुङले जानकारी दिनुभयो ।

यसैगरी पोखरा रङ्गशालामा खेलाडी तथा प्रशिक्षकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याइने परिषद्ले जनाएको छ ।

Comments
Loading...