पोखरामा थपियो साहसिक पर्यटनको गन्तव्य:सुपरम्यान जिपलाइन

–वासुदेव पौडेल
हिमाली आवाज । पोखरा प्रकृतिको बरदान त हो नै पछिल्लो समयमा थपिने गरेका विभिन्न पर्यटकीय गतिविधिले यहाँ आउने जोकोहीको बसाइ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

माछापुच्छ«े पौडिने फेवाताल होस् वा यहाँका तलतलैया र लहरै चाँदीजस्तै टल्किएका हिमालको दृश्यले स्वदेशी एवम् विदेशीको ध्यान पोखरामा खिच्ने गरेको छ ।साहसिक पर्यटनका जिपलाइन, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प आदिले पोखरा साहसिक पर्यटनमा विशेष रुचि राख्नेका लागि पनि आकर्षक गन्तव्य बनेको छ ।साहसिक पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै पोखरामा विश्वकै भिरालो सुपरम्यान जिपलाइन हालै सञ्चालनमा आएको छ ।

जिप लाइनमा विश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’सँग आवद्ध हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकदेखि पोखरामा सञ्चालन गरिरहेको विश्वकै भिरालो र छिटो जिपलाइनमा सुपरम्यान जिपलाइन खेलको सुरुवात गरिएको संस्थाका प्रमुख सञ्चालन अधिकृत(चिफ अपरेटिङ अफिसर) दीनेश महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन् २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको हाइग्राउण्ड एडभेन्चर प्रा.लि.ले एक दशक पछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन थालेको हो । सुपरम्यान जिपलाइन सुतेर गरिन्छ ।

“समुन्द्री सतहदेखि एक हजार ५५० मिटरको उचाइमा रहेको सराङ्कोटको माथिल्लो स्टेशनबाट तल्लो स्टेशन हेमजासम्म भर्टिकल ड्रप (भिरालो) ६०० मिटर दूरी छ”, उहाँले भन्नुभयो, “यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अरु नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा ‘विश्वकै भिरालो जिपलाइन’ का रुपमा दर्ता गर्न आवेदन दिएका छौं ।”

विश्वकै लामो मध्येको एक हजार ८५० मिटर दूरीको सुपरम्यान जिपलाइनमा पार गर्न औसत १४० किमि प्रति घण्टाको गतिमा अधिकतम समय एक मिनेट लाग्छ ।जिपलाइनमा जाने पर्यटकले पोखराबाट नागबेली बाटो काट्दै सवारी साधनमार्फत करिब ४५ मिनेटको यात्रामा सराङ्कोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा शहर अनि सराङ्कोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरूको दृश्यावलोकन गर्न पाउँछन् ।

३५ देखि १२० किलो तौलका साथै १२ वर्षदेखि माथिका व्यक्तिले जिपलाइन खेल्न सक्दछन् । तथ्याङ्क अनुसार बेलायतकी ९४ वर्षीय जुन स्कट अहिलेसम्म जिपलाइन गर्ने सबै भन्दा जेष्ठ नागरिकका रुपमा रहनुभएको महर्जनले जानकारी दिनुभयो ।“जिपलाइनलाई सुरक्षित गराउनका लागि हरेक दिन सबै उपकरणको सुरक्षा जाँच गरिने र हरेक महिना मर्मत गरिन्छ”, उहाँले भन्नुभयो, “हरेक बर्ष जिप फ्लायर अमेरिकाका प्राबिधिकबाट सुरक्षा परीक्षण(सेफ्टी अडिट) गराउने गर्दछौं ।”

जिपलाइनमा प्रयोग हुने ट्रली र हार्नेस जिपलाइनको विश्वबिख्यात, उत्कृष्ट र सुरक्षित रहेको बताउँदै उहाँले कम्पनीबाट प्रयोग गरेको ट्रली, हार्नेस, वायर लगायतको प्रविधि नेपालमा अरु कुनै जिपलाइनमा नभएको दावी गर्नुभयो ।

नेपालीका लागि छ हजार ५०० रुपैयाँ र विदेशीका लागि आठ हजार पाँच सय रुपैयाँ कायम गरिएको सुपरम्यान जिपलाइनमा फोटो भिडियो र टिसर्ट प्याकेज लिन अतिरिक्त एक हजार ५०० रुपैयाँ राखिएको छ ।अगाडि माछापुच्छ्रेको दृश्य तथा तल हेमजा फाँटको ग्राउण्ड स्टेशन रहेको र हिमालको चिसो झोँकसँगै हुत्तिन पाउनु यस जिपलाइनको विशिष्टता हो ।

जिपलाइनकै ग्राउन्ड स्टेसन हेमजामा क्यान्टिलिभर ब्रीजको नमूनामा बनाइएको टावरमा बन्जी गर्ने व्यवस्था मिलाइएको छ । नेपालकै पहिलो टावर बन्जीका रुपमा रहेको यहाँ जोडिले सँगै आङ्गालो मारेर गरिने टेन्डम बन्जी पनि सञ्चालनमा छ ।

जिपलाइन र बन्जी गर्ने पर्यटकलाई लाने र लैजाने व्यवस्था पनि कम्पनिले नै गरेको र यसमा अतिरिक्त शुल्क नलाग्ने जानकारी दिदै महर्जनले हेमजामा छिट्टै विभिन्न साहसिक खेलहरू थप्ने योजना रहेको बताउनुभयो ।नेपाल आउने युरोपियन, अष्ट्रेलियन, कोरियन आदि देशका अधिकांश विदेशी पर्यटक साहसिक पर्यटनका लागि आउने गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले जानकारी दिनुभयो ।

“नेपालमा साहसिक पर्यटनका गतिविधिहरू पर्वतारोहण, पदयात्रा, हाइकिङ, ¥याफ्टिङ, कायकिङ सँगै प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट आदिले पर्यटकलाई आकर्षित गरेका छन्”, उहाँले भन्नुभयो, “यी साहसिक पर्यटनका गतिविधिले पर्यटकलाई लोभ्यानुका साथै उनीहरूको बसाइ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।”

पछिल्ला समयमा नेपालीमा पनि घुमफिर गर्ने संस्कृति बढ्दै गएको बताउँदै उहाँले साहसिक पर्यटनमा पनि आन्तरिक पर्यटकको उत्तिकै आकर्षण बढ्दै गएको बताउनुभयो ।

Comments
Loading...