पहिरोको कारण छुट्टाछुट्टै ठाउँमा गरी १४ जनाको मृत्यु

हिमाली आवाज । अविरल वर्षाको कारण आएको पहिरोमा परी डोटीमा ६ जना, धनकुटामा ६ जना र ईलाममा २ जना गरी १४ जनाको मृत्यु भएको छ ।

डोटी, जोरायल गाउँपालिका–३ नवलपुर बस्ने ६२ वर्षीय जोगी सार्कीको घरमा अविरल वर्षाको कारण मंगलबार दिउँसो पहिरो जाँदा जोगी सार्की र उहाँका श्रीमती ५० वर्षीया झुपरी सार्कीको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी सोही गाउँपालिका–४ सईगडा बस्ने ४२ वर्षीय शेर बहादुर बिकको घर पहिरोले पुरिंदा शेर बहादुर, उहाँका छोरा १८ वर्षीय मोहन बिक, छोरी १३ वर्षीय पबित्रा बिक र सोही ठाउँ घर भई मामा घर आएका १६ वर्षीय रबिन बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै पहिरोमा परी शेर बहादुरकी श्रीमती ३८ वर्षीया देबी बिक, छोराहरु १५ वर्षीय पुष्कर बिक र ४ वर्षीय लक्ष्मण बिक घाइते भएका छन् । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरे बस्ने भिम बहादुर श्रेष्ठको घर मंगलबार राति पहिरोले पुरिंदा श्रेष्ठ सहित ६ जनाको मंगलबार राति मृत्यु भएको छ ।

उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ नेपाली सेना, ईलाका प्रहरी कार्यालय राजारानी, स्थानीयवासीको सहयोगमा घरभित्र रहेका १२ जनामध्ये ६ जनालाई उद्दार गरी स्थानीय स्वास्थ्य चौकी बुधबारेका स्वास्थ्यकर्मीबाट प्राथमिक उपचार भईरहेको बताइन्छ ।

ईलामको फाकफोकथुम गाउँपालिका–१ ठेङगेपुर बस्ने नग बहादुर शेर्माको घर मंगलबार राति पहिरोले पुरिदा घरभित्र रहेका ४ जनामध्ये २ जनाको मृत्यु भएको छ । पहिरो गएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा २ जनाको उद्दार गरेको छ । उनीहरुको स्थानीय स्वास्य् केन्द्रमा उपचार भइरहेको छ ।

यसैगरी फाकफोकथुम गाउँपालिका–३ स्थित मेलकोटेमा नेत्रबहादुर मोटेको घर मंगलबार राति पहिरोले पुरिंदा घरभित्र रहेका ४ जनामध्ये ३ जनाको स–कुसल उद्दार गरिएको छ । साथै पहिरोमा बेपत्ता भएकी नेत्रबहादुरकी श्रीमती ४९ वर्षीया नारायणी देवी मोटेको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

यसैगरी फाकफोकथुम गाउँपालिका–३ स्थित सल्लेरी बस्ने नैन शिंह कट्वालको घर मंगलबार राति पहिरोले पुरिंदा घरभित्र सुति रहेका ४ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गरिरहेको छ ।उक्त स्थानहरूमा स्थानीय सुरक्षा निकाय र स्थानीयबासीको समन्वयमा उद्दार कार्य भइरहेको बताइन्छ ।

Comments
Loading...