मन्त्री बन्नकै लागि पार्टीमा कित्ता परिर्वतन गरेको छैन : विनाविभागीय मन्त्री विश्वकर्मा

हिमाली आवाज । गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन अनुसार आफूले काम गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार सम्मेलन आयोजना गरी उहाँले आफूलाई मन्त्री नियुक्त गरेर पार्टीले संविधानमा भएको समावेशी र समानुपातिकको व्यवस्थालाई कार्यान्वयन गरेको बताउनुभयो ।

तनहुँबाट प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने विश्वकर्मा गत असोज २५ गते विनाविभागीय मन्त्रीमा नियुक्त हुनुभएर सोही साँझ सपथ गराइएको थियो ।
गत साउन ८ गते मन्त्रिपरिषद् विस्तारका क्रममा अन्तिम समयमा मन्त्रीको सूचीबाट हट्नु पर्दा पार्टीको आन्तरिक विषय हो भनेर आफूले सहज रुपमा लिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,“त्यस बेला मौका मिलेको थिएन, धेरै जना साथीहरु मन्त्रीको दौडमा हुनुहुन्थ्यो । संविधानले गरेको व्यवस्था अनुसार मन्त्रिपरिषद्मा समावेश गर्न सकिएन भन्ने पार्टीलाई लाग्यो र कुनै न कुनै जिम्मेवारीमा पु¥याउनुपर्दछ भनेरनै अहिले पार्टीले जिम्मेवारी दिएको छ ।”
संविधानमा भएको समानुपातिक र समावेशी व्यवस्था कार्यान्वयनमा काँग्रेस पार्टीबाट केही कमीकमजोरी भएको भनेर सञ्चार माध्यमले आवाज उठाएको र आफूलाई अगाडि बढाउन सहयोग गरेकामा मन्त्री विश्वकर्माले धन्यवाद व्यक्त गर्नुभयो ।

यसअघि सपथको केही समयअघि मात्र मन्त्रीबाट उहाँको नाम हटाइएको थियो । काँग्रेसले अन्तिम घडीमा विश्वकर्माको नाम हटाएर पोखराका धनाड्य उद्योगी व्यवसायी विन्दुकुमार थापालाई मन्त्री बनाएपछि आलोचना भएको थियो ।

मन्त्री विश्वकर्माले मन्त्री बन्नकै लागि आफूले अहिले पार्टीभित्र कित्ताकाट नगरेको स्पस्ट पार्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुरुआतदेखीनै भूमिका खेल्नुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“संविधानमा भएको व्यवस्था अनुसार समावेशी गर्न सकिएन भनेर वरिष्ठ नेता पौडेलले असोज १३ गते पोखरा आएर मुख्यमन्त्रीलाई भन्नुभयो, उहाँले पार्टी सभापति तथा प्रधानमन्त्रीसँग समेत यस विषयमा कुरा राख्नुभयो । गठबन्धनको सरकार भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित अन्य पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्ने र सबै नेतालाई कन्भिन्स गराउन ठूलो भूमिका वरिष्ठ नेता पौडेलको रह्यो । ”

Comments
Loading...