हिसान गण्डकीको अध्यक्षमा रमाकान्त बराल निर्वाचित

हिमाली आवाज । उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ(हिसान) गण्डकी प्रदेशको अध्यक्षमा रमाकान्त बराल निर्विरोध निर्वाचित हुनुभएको छ ।

हिसानको आज पोखरामा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले बरालको अध्यक्षतामा १३ सदस्सीय प्रदेश समिति निर्वाचित गरेको हो ।
पोखराको स्टेप वाई स्टेप माध्यमिक विद्यालयका संस्थापक तथा निर्देशक रहनुभएका बराल हिसानको केन्द्रीय सल्लाहकार समेत हुनुहुन्छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा रामजी शर्मा(कास्की), उपाध्यक्ष छबिलाल कँडेल(नवलपुर), सचिव डा पुण्यप्रसाद पौडेल(कास्की), कोषाध्यक्षमा राजेन्द्रमणि पौडेल(कास्की),सहसचिवमा बालाकृष्ण शर्मा(बाग्लुङ) र सहकोषाध्यक्षमा प्रताप कोइराला(नवलपुर) चयन हुनुभयो ।
यसैगरी सदस्यहरुमा कमलराज सापकोटा(कास्की), लिलानाथ काफ्ले(तनहुँ),जनक केसी(गोरखा),धनबहादुर थापा(कास्की),लिलावति प्रधान(कास्की) र दीपक शर्मा मरासिनी(स्याङ्जा) रहनुभएको छ ।

यसैगरी सल्लाहकारहरुमा शेरबहादुर गुरुङ, सूर्यबहादुर जिसी,बाबुराम पन्त, डोलराज पाण्डे, गोपेन्द्र केशरी न्यौपाने र प्रकाश शर्मा पौडेल चयन हुनुभयो । आमन्त्रित सदस्यमा डा त्रिभुवन शर्मा पौडेल हुनुहुन्छ ।
गण्डकी प्रदेश शिक्षाको हब ः मुख्यमन्त्री पोखरेल
यसअघि साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश शिक्षाको हब(केन्द्र) बन्न सक्ने प्रसस्त सम्भावना रहेको बताउनुभएको छ ।

प्रदेश सरकारले प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनको लक्ष्य सहित गण्डकी विश्वविद्यालय स्थापना गरेको मुख्यमन्त्री नेपालीको भनाई छ ।उहाँले भन्नुभयो,“गण्डकी प्रदेशलाई शिक्षा, खेलकुद लगायत धेरै चिजको हब बनाउन सकिन्छ । विदेशी विद्यार्थी समेत पढ्न आउने परिकल्पनाका साथ गण्डकी विश्वविद्यालय बनेको हो । गुणस्तरीय शिक्षाको विकासका लागि निजी तथा तथा सरकारी विद्यालय र सरकारकाबीचमा राम्रो बहस हुनु आवश्यक छ ।”

वर्तमान संविधानमा आधारभूत शिक्षा सबैलाई अनिवार्य तथा माध्यमिक विद्यालयसम्मको शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था गरेकाले सोको कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।देशको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेकाले निजी क्षेत्रलाई निरुत्साहित गर्दा अर्थतन्त्र चल्नै नसक्ने अवस्था आउने भएकाले प्रोत्साहन जरुरी रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवालले शैक्षिक संस्थाको सङ्ख्या वृद्धि भएको र शिक्षामा पहुँच बढेपनि गुणस्तरको विकास नभएको बताउँदै व्यवहारिक र गरिखाने शिक्षाका बारेमा सङ्घ, प्रदेश र स्थानीय सरकारको चासो हुनुपर्ने बताउनुभयो ।

निजी विद्यालय र शैक्षिक संस्था प्रतिस्पर्धा गर्न चाहने र प्रतिस्पर्धा गर्न नसक्नेलाई बजारले समेत अस्वीकार गर्ने भनाई उहाँको थियो । गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले निजी शिक्षा विदेशमा समेत रहेकाले नेपालमा यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

उद्घान समारोहमा गण्डकी प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ, शिक्षा समन्वय तथा इकाई कास्कीका प्रमुख नारायण सुवेदी, महानगर शिक्षा शाखा प्रमुख हेम आचार्य, राष्ट्रिय परिक्षा बोर्डका कार्यालय प्रमुख विष्णुनारायण श्रेष्ठ लगायतले ,साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

हिसानका केन्द्रीय उपाध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सल्लाहकार रमाकान्त बरालले स्वागत र हिसान कास्कीका उपाध्यक्ष दिवाकर जैसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । यसअघि जिल्ला र केन्द्रीय हिसान रहेकामा अधिवेशनले पहिलोपटक प्रादेशिक समिति गठन गरेको हो ।

Comments
Loading...