पोखराको एक होटलमा महिलालाई यौन शोषणमा लगाउने दुई पक्राउ

हिमाली आवाज । महिलालाई काममा लगाई दिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी यौन शोषण गर्न लगाएको अभियोगमा प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा जिल्लाको कोल्बि नगरपालिका–१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्ट रहेका छन् ।

उनीहरुले पोखरा महानगरपालिका वडा नं.०६लेकसाईडमा रहेको होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाईदिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाएको कास्की प्रहरीले जनाएको छ ।

सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबै जनालाई मानव बेच–बिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको बताइन्छ । साथै पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिनुभयो ।

Comments
Loading...