काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताउनुभएको छ ।
बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २५ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका रहेको बताउनुभयो ।

राष्ट्रिय प्रसारण लाइन नपुगेका दूरदराजका जनतामा केन्द्रमार्फत ऊर्जामा पहुँच पुगको बताउँदै उहाँले आगामी दिनमा पनि आफूलाई परिमार्जित ढंगबाट अघि बढाउन केन्द्रलाई निर्देशन दिनुभयो ।
खेलले शारीरिक तन्दुरुस्तीलाई मात्र नभई नागरिकलाई अनुशासित समेत बनाउन पनि सहयोग गर्ने उल्लेख गर्दै उहाँले मन्त्रालय मातहतका निकायबीच हुने यस्ता प्रतियोगिताले आपसी सहकार्य र भावनात्मक एकता बढाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा ऊर्जा मन्त्रालय मातहतका आयोग, विभाग, निकायबाट १६ टोलीको सहभागिता रहेको केन्द्रले जनाएको छ । २५ औँ वार्षिकोत्सवको अवसर पारेर सप्ताहव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ । केन्द्रले विद्युतीय सवारीको प्रयोगमा प्रोत्साहित गर्न शनिबार बिहान विद्युतीय सवारी साधनको र्यालीको आयोजना गरेको छ ।