जनताको इच्छाविपरीत कुनै काम गर्दैनौँ:ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अगाडि बढाउने विश्वास दिलाउनुभएको छ । भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताउँदै उहाँले त्यसका लागि सम्पूर्ण जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

गोदावरी नगरपालिका वडा नं १२ ठेचो र काठमाडौँ मेडिकल कलेज सिनामङ्गलको संयुक्त सहकार्यमा आज आयोजनता गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री भुसालले भन्नुभयो, “आफूहरु जनतालाई साथमा लिएर विकास निर्माण कार्यलाई अगाडि बढाउन प्रतिवद्ध छौँ ।” उहाँले स्वास्थ, शिक्षा एवं पूर्वाधारका विकासका लागि सरकार जनताप्रति प्रतिवद्ध रहेको बताउँदै भन्नुभयो, “जनताको इच्छाविपरीत कुनै काम गर्दैनौँ ।”

मन्त्री भुसालले जनताको भावनालाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढ्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “सातदोबाटो–चापागाउँ सडकको स्तरोउन्नती गर्दा जनताको इन्छाअनुसार नै गरेको हौँ ।” मन्त्री भुसालले प्रभावित जनतालाई सहमत गराएरमात्र विकास निर्माण अगाडि बढाउने पक्षामा आफूहरू रहेको स्पष्ट पार्नुभयो ।

ललितपुर जिल्लामा स्वास्थ्य र शिक्षामा अग्रपङ्तीमा रहेको उल्लेख उहाँले गर्दै धनीवर्गका लागि महङ्गा अस्पताल र गरिब जनताले निःशुल्क स्वास्थ्य सेवा पनि पाउनसक्ने अवस्था रहेको बताउनुभयो ।

कार्यक्रममा बागमति प्रदेश सदस्य राजकाजी महर्जनले स्वास्थ्य, शिक्षासहित ललितपुरको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । गोदावरीको वडा नं १२ स्थित लिटिलस्टार स्कूल परिसरमा आयोजना गरिएको शिविरमा त्यस भेगका जनताले काठमाडौँ मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीबाट निःशुल्क स्वास्थ्य परीक्षण एवं उपचार गराएका छन् ।
––

Comments
Loading...