कास्कीको विरेठाँटीमा नेलम्बोको निःशुल्क दन्त उपचार शिविर,२९४ जना लाभान्वित

हिमाली आवाज । शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा अग्रणी नेलम्बो नेपालले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ विरेठाँटीमा निःशुल्क दन्त उपचार शिविर शुरु गरेको छ ।

अन्नपूर्ण गाउँपालिकासँगको साझेदारीमा गाउँपालिका वडा नं. ८ मा रहेको विरेठाँटी मा.वि मा निःशुल्क दन्त शिविर आयोजना गरिएको हो । स्थानीय विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई लक्षित गरेर निःशुल्क दन्त शिविर आयोजना गरिएको हो ।

शिविरमा निःशुल्क रुपमा दाँतको चेक जाँच, औषधी उपचार, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जरै देखि उपचार, दाँत सफा गर्ने, दाँतको एक्सरे, गिजाको उपचार आदि जस्ता मुख तथा दाँत सम्बन्धी औषधी उपचार गरिएको नेलम्बो नेपालका मिडिया कोअर्डिनेटर भीमप्रसाद भण्डारीले जानकारी दिनुभयो । शिविरमा २९४ जना लाभान्वित भएको उहाँले बताउनुभयो ।

सो शिविरमा नीजि अस्पतालमा गरिने उपचारका आधारमा भन्दा ११ लाख ५० हजार बराबरको औषधी उपचारको सेवा दिइएको बताइन्छ ।
नेलम्बो नेपालले मिनि भ्यानलाई मोवाईल डेण्टल भ्यानको रुपमा परिकल्पना गरि सम्पूर्ण अत्याधुनिक उपकरणहरु सोही भेनमा जडान गरि विपन्न समुदायलाई लक्षित गरि गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

शिविर उद्घाटनको अवसरमा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपालको लक्ष्य भनेको विपन्न समुदायमा मुख तथा दाँत सम्बन्धी अति महँगो उपचारलाई सुलभ बनाउने रहेको बताउँदै नेलम्बो नेपाल आगामी दिनहरुमा पनि गाउँपालिका र विरेठाँटी मा.विसँग सहकार्य गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, स्वास्थ्य संयोजक ऋषिराम पौडेल, शिक्षा संयोजक बलराम भुँगाईलगायतले नेलम्बो नेपालको सामाजिक कार्य उदाहरणीय रहेको बताउनुभयो । शिविर कात्तिक ७ गतेदेखि १३ गतेसम्म एक हप्तासम्म चलेको थियो ।

उपचारमा नेलम्बो नेपालका सिनियर डेण्टल र्सजन डा. रोशन के.सीको नेतृत्वमा, दन्त चिकित्सा सहायक, स्नेहा खड्का, सुष्मि बुढा मगर, दन्त चिकित्सा सहयोगि विजय बलम्पाकी मगर, टेक्निकल अफिसर रवि गुरूङ्ग, जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारी, टेक्निकल सुपरभाइजर रुपेस गुरुङ्ग, सवारीचालक कृष्ण प्रसाद देवकोट, मुक्त माल र भोलेण्टीयर सहोगी नम्रता ढुगाना, लगायतको टिमले सो शिबिर सञ्चालन गरेको थियो ।

Comments
Loading...