प्रेस स्वतन्त्रता प्रति सरकार प्रतिवद्ध :मुख्यमन्त्री पोखरेल

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रता प्रति सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज पोखरामा विजयादशमी, दिपावली, छठ लगायतका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रतालाई अङ्कुस लगाउने कुरामा सरकार जान नसक्ने स्पष्ट पार्नुभयो ।

पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको बताउँदै उहाँले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानुन यसका विरुद्धमा हुन नसक्ने उल्लेख गर्नुभयो ।सरकारका कामकारवाही एवम् गतिविधिका सम्बन्धमा प्रेस जगतबाट तथ्यगत समारचाको अपेक्षा गरिएको बताउँदै उहाँले आँफूहरूले तारिफ नचाहेको बताउनुभयो ।

प्रदेशका अर्थ मन्त्री रामजी बराल जीवनले राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको बताउँदै अहंकार र घमण्डले केवल दुर्दशा तथा अस्थिरता ल्याउने बताउनुभयो । नेपालीका यी महान चाडले राष्ट्रिय एकता कायम गर्ने उहाँले बताउनुभयो ।

शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधि मन्त्री मेखलाल श्रेष्ठले सरकार प्रदेशवासीलाई खोपको व्यवस्थाका साथै बाढी पहिरो एवम् प्राकृतिक विपत्तिको उद्धार, राहत आदिमा कृयाशिल बनेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकारिता क्षेत्रलाई राज्यले चौथो अंगका रुपमा स्थापित गरे पनि अझै कतिपय स्थानमा समाचार लेखनकै सन्दर्भमा डर तथा धम्की सामना गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

पत्रकारमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिदै उहाँले पत्रकारहरूले पनि सत्यतथ्यमा आधारित भै समाचार संकलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य एवम् नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमल्सिना, सचिव माधव बराल लगायतले नेपालीहरूका यी चाडपर्वले सवैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...