श्रीमतीको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्त पक्राउ

हिमाली आवाज । कपिलबस्तुमा श्रीमति हत्याको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ३५ वर्षीया चिन्का लोनियाको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्त महाराजगंज नगरपालिका–११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनियालाई प्रहरीले पक्राउ गरेको हो ।

गत असोज १७ गते बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले घटनास्थलमा गई आवश्यक अनुसन्धान गरेपनि तत्काल पहिचान खुलेको थिएन । गत असोज २६ गते ईलाका प्रहरी कार्यालय गोरुसिङेमा कर्तव्य ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्ता भई अनुसन्धान भइरहेकोमा कात्तिक ७ गते घटनास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट उनको सनाखत भएको थियो ।

घटना सम्बन्धमा गोप्य रुपमा बुझ्दै जाँदा चिन्कालाई राम केवलले हत्या गरी नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बस्दै आएको भन्ने खुल्न आएपश्चात खोजतलास गर्नेक्रममा ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले बुद्धभूमि नगरपालिका–९ डुमरामा फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चिन्काले पर पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर आपसी झगडा भएपछि श्रीमतीलाई मार्ने योजना बनाई जंगलमा बाती काट्ने काठ लिन जाने बहानामा जंगलमा लगी हसियाँले हत्या गरी भारततर्फ भागेको अनुसन्धानबाट खुल्न आएको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Comments
Loading...