गण्डकीका पूर्ण अशक्तहरुको निःशुल्क स्वास्थ्य बीमा :अर्थमन्त्री बराल

हिमाली आवाज । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले प्रदेशमा रहेका पूर्ण अशक्तहरुको चालू वर्षदेखी निःशुल्क स्वास्थ्य बीमा गरिने बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको हकहितमा काम गर्ने सरोकारवाला सङ्घ संस्थाका पदाधिकारीहरुसँग आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा उहाँले प्रदेशमा रहेका पूर्ण अशक्तहरुको पहिलो चरणमा निशुल्कःबीमा गराउने प्रदेश सरकारको योजना रहेको जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिको परिवारलाई हुने आर्थिक भार कम गर्न यसै बर्षदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने योजना रहेको मन्त्री बरालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पूर्ण अपाङ्गता भएकाहरुको स्वास्थ्य बीमाका लागि पहिलो चरणमा तथ्याङ्क सङ्कलन गरिने छ । सरोकारवालाहरुको सुझाव अनुरुप कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध छ ।” प्रदेशमा दुई हजारको हाराहारीमा पूर्ण अशक्त भएका व्यक्तिहरु रहेको अनुमान गरिएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीले स्वास्थ्य बीमा कार्यक्रमम सहित प्रदेशमा रहेका पूर्ण अशक्तभएकाहरुको तथ्याङ्क सङ्कलन गर्न समेत सरकारबाट सहयोग गर्न आग्रह गर्नुभयो ।बीमामा फिजियो थेरापी, सहज उपचार सेवा, आवश्यक औषधीको प्रवन्ध र पायक पर्ने अस्पतालमा उपचार गर्ने वातावरण बनाउन उहाँले सरकार समक्ष माग गर्नुभयो ।

विसं २०६८ को जनगणना अनुसार प्रदेशमा करिब ५७ हजार अपाङ्गता भएका व्यक्तिहरु रहेको महासङ्घले जनाएको छ ।कार्यक्रममा महासंघका केन्द्रिय सदस्य अन्जना केसी, प्रदेश उपाध्यक्ष प्रमिला थकाली, श्रवण दृष्टिबिहिन संघ नेपालका अध्यक्ष पुष्पराज रिमाल, सृजनशिल अपाङग समाज केन्द्रका अध्यक्ष फडिन्द्र प्रसाद पौडेल लगायतले अपाङगता भएकाहरुको सहयोगीहरुको लागि समेत राज्यले बिषेश व्यबस्था गर्नुपर्ने माग गर्नुभयो ।

Comments
Loading...