माछापुच्छ्रे गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा

विद्यार्थीका लागि विहान ५ बजेदेखी बस सञ्चालन हुने

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक बसको भाडा दर तोकेको छ ।

बसको भाडा र सञ्चालन तालिकाका सम्बन्धमा पटक÷पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएको जनगुनासापछि पृथ्वीराजमार्ग बस सञ्चालन कम्पनी प्रालि सहित सरोकारभएकाहरुको छलफलबाट भाडा कायम गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रालिद्धारा पोखराको हरिचोकदेखी गाउँपालिकाको खोराकोमूख लुम्रे रुटमा सञ्चालन हुने बसको अधिकतम भाडा रु ११० कायम गरिएको गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार सोही बमोजिम उक्त रुट अन्तर्गत पर्ने स्थानको भाडा पनि समायोजन गरिनेछ ।

यातायात व्यवस्था विभागले गत असार २९ गतेदेखी लागू हुने गरी अन्तर प्रदेश रुटमा २८ प्रतिशत भाडा वृद्धि गरेपछि गाउँपालिकाभित्रका बसले पनि भाडा वृद्धि गरेकामा गण्डकी प्रदेशको प्रदेश सवारी तथा यातायात ऐन बमोजिम समितिले भाडा समायोजन नगरेसम्मका लागि अहिले तोकिएको भाडादर लागू हुने र कायम रहने बताइन्छ ।

यसैगरी पोखरादेखी टुसे ग्राउण्ड रुटमा पृथ्वीराजमार्ग बस कम्पनीबाट सञ्चालन हुने बसको भाडादर रु १०० कायम गरिएको र सोही अनुसार सो रुटको अन्य स्थानको बस भाडा समेत समायोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

“भाडादर कायम नहुँदा बसका कर्मचारी र यात्रुकाबीचमा समेत भाडाका विषयमा विवाद हुने गरेको थियो । अहिले गाउँपालिकाभित्रका मुख्य रुटको अधिकतम भाडा तोकेका छौँ ।”प्रवक्ता शाहीले भन्नुभयो,“छलफलका आधारमा पुनःयसलाई परिमार्जित गर्दै सबै वडाको भाडा तय गर्नेछौँ ।

यसैगरी आगामी मङ्सिर १ देखी विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरी विहान ५ः०० बजेदेखी गाउँपालिकाबाट बस सञ्चालन हुने भएको छ ।

विभिन्न विद्यार्थी सङ्गठनहरुले गाउँपालिकाबाट विहानको समयमा बस सञ्चालन नहुँदा विद्यार्थीहरु पोखरामा कोठा भाडामा लिएर बस्नुपर्ने अवस्था आएकाले घरबाटै क्याम्पस जानका लागि बसको व्यवस्था गर्न माग गरेका थिए ।

गाउँपालिकाबाट पोखराका विभिन्न विद्यालय र विश्वविद्यालयहरुमा विहानी तथा दिवा सत्रमा विद्यार्थीलाई मध्यनजर गरी मङ्सिर १ गतेदेखी वडा नं १ को टुसे ग्राउण्डबाट घाचोक हुँदै पोखरा, वडा नं ५ को हाइड्रोबाट रिभान, लाहाचोक हुँदै पोखरा र वडा नं ८ को लुम्रे र अन्य वडाबाट विद्यार्थी सङ्ख्याका आधारमा विहान ५ः०० बजेदेखी पोखरासम्म बस सञ्चालन हुने प्रवक्ता शाहीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र सञ्चालन हुने सार्वजनिक बसले सरकारले तोकेको ४५ प्रतिशत विद्यार्थी छुट परिचयपत्रका आधारमा उपलव्ध गराउन बस कम्पनीले सहमति गरेका छन् ।

Comments
Loading...