चीनको सहयोगमा पोखराका सामुदायिक विद्यालयमा निःशुल्क ईन्टरनेट

हिमाली आवाज । नेपालस्थित चिनिया दूतावासको सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलव्ध गराइने भएको छ ।चिनिया राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडान सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो ।

नेपाल–चीन जनमैत्री सङ्घको पहलमा ग्रामीण शिक्षा सहयोग कार्यक्रम अन्तर्गत दुतावासले पोखरा महानगरपालिका–२१ का जनजागृति, भविष्य निर्माण र जनचेतन माध्यमिक विद्यालय तथा पोखरा–३३ को शिशु कल्याण माध्यमिक विद्यालयमा इन्टरनेटन जडानका सहयोग गरेको हो ।
सम्झौतामा जनमैत्री सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले हस्ताक्षर गर्नुभएको छ ।सङ्घका अध्यक्ष पालिखेका अनुसार सङ्घको प्रश्तावमा चिनिया दुतावासले पहिलो चरणमा चार विद्यालयमा इन्टरनेट सुविधा प्रदान गर्नका लागि सहयोग गरेको हो । सम्झौता अनुसार विद्यालयले एक वर्षको इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन् ।

यसैगरी सोलार प्यानल, सबै कक्षामा आवश्यक इन्टरनेट डिभाइडर लगायतका उपकरण समेत प्रदान गरिएको अध्यक्ष पालिखेले जानकारी दिनुभयो । पोखरा इन्टरनेटले उपलव्ध गराउने इन्टरनेट सेवाका लागि चार विद्यालयमा गरी कूल रु २० लाख लगानी भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा राजदुत होउ यान्छीले नेपालको शिक्षा विकासमा सघाउन चीन सदैव तत्पर रहेको बताउनुभयो । कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा धेरै विद्यार्थी प्रभावित बनेको बताउँदै उहाँले ज्ञान, शिक्षा र दुर शिक्षाका लागि इन्टरनेटट अत्यावश्यक रहेकाले सहयोग गरिएको बताउनुभयो ।

विद्यालयहरुमा इन्टरनेट अभावमा अनलाइन कक्षा सञ्चालन हुन नसक्ने भएकाले दुतावासले नेपालका धेरै विद्यालयहरुमा सहयोग गरेको राजदुत यान्छीले बताउनुभयो ।“नेपाल र चीन नदी र पहाडले जोडिएका छिमेकी हुन्, दुःख र सुःखमा सँगै हिँडेका असल मित्र हुन् ।”राजदुत यान्छीले भन्नुभयो,“कोभिड महामारीको सुरुआतमा नेपालले चीनलाई गरेको सहयोगप्रति चीन सदैव आभारी छ । नेपालमा महामारी गम्भीर भएपछि मेडिकल उपकरण लगायतमा चीनले मद्धत गरेको हो ।”

चिनिया नेताहरुले शिक्षा विकासलाई धेरै महत्व दिएको बताउँदै उहाँले नेपाली विद्यार्थीलाई चीनमा छात्रवृत्ति, भ्रमण तथा अनुभव आदान प्रदान तथा विद्यालय भवन निर्माण र पुनःनिर्माणमा सहयोग गरेको बताउनुभयो ।उहाँले नेपाली विद्यार्थीलाई चीन र नेपालको इतिहास अध्ययन गर्न र मित्रताको प्रचार प्रसार गर्न आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री मेखलाल श्रेष्ठले पोखरालाई शिक्षाको हब बनाउन प्रदेश सरकारले योजना अगाडि बढाइरहेकाले चीन सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

गण्डकी प्रदेशको कला, संस्कृति र चीनको संस्कृति मिल्दोजुल्दो रहेकाले प्रदेश सरकारले नजिकको सम्बन्ध बनाउन चाहेको मन्त्री श्रेष्ठको भनाई छ ।

गण्डकी प्रदेशको मुस्ताङसँग जोडिएको चीनको कोरला नाका सहज सञ्चालन भएको खण्डमा तीव्र विकासमा सहयोग पुग्ने भएकाले नाका खोल्न पहल गर्न राजदुत यान्छीसँग उहाँले आग्रह गर्नुभयो ।

Comments
Loading...