पोखराका कवि एवं साहित्यकार विजय बजिमयको निधन,पोयुसाद्धारा शोक व्यक्त

हिमाली आवाज । पोखरेली साहित्यकार विजय बजिमयको आज निधन भएको छ ।पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष समेत रहनुभएका साहित्यकार बजिमयको राजधानी काठमाडौँमा निधन भएको हो ।

विसं २०१४ चैत्र २३ मा पोखराको मोहरिया टोलमा पिता समर बहादुर बजिमय तथा माता चिज कुमारी बजिमयको कोखबाट माइला सुपुत्रको रुपमा जन्मनु भएका विजय बजिमयको अन्ततोगत्वा(कथासंग्रह) र समय भनेको समय हो (कवितासंग्रह)का साथै सयौंका संख्यामा फुटकर कथा, कविताहरु प्रकाशित छन् ।

समीक्षा साप्ताहिकको संवाददाताको रुपमा पत्रकारिता शुरु गर्नुभएका स्व. वजिमयले फेवाताल (सामयिक संकलन), नौलो डाँको (साप्ताहिक), आँखीझ्याल (गोजिका) र पलाँस(गोजिका)को सम्पादन तथा प्रकाशन गर्नुभएको थियो । उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानकोप्राज्ञ सभासद पनि हुनुहुन्थ्यो । उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानको कविता महोत्सबमा तृतीय पुरस्कार, नेत्र स्मृति पुरस्कार, मोति पुरस्कार र राष्ट्रिय प्रतिभा पुरस्कार लगायत बिभिन्न सम्मानहरु बाट पुरस्कृत तथा सम्मानित हुनुहुन्थ्यो ।

स्व. बजिमय पोखरेली युवा सांस्कृतिक परिवारको पूर्व अध्यक्ष,पोखरा लायन्स क्लब तथा वागिना परिवार संग पनि सम्बद्ध हुनुहुन्थ्यो । राजनीतिक रुपमा उहाँ नेपाली कांग्रेस संग आवद्ध हुनुहुन्थ्यो । उहाँको देहावसानले नेपाली साहित्यमा अपूर्ण क्षति पुगेको पोखरेली युवा सांस्कृति परिवारले जनाएको छ ।

स्व. वजिमयको शवयात्रा उहाँकै निवास महोरियाटोल बाट कार्तिक २९ गते बिहान ८ बजे निकालिने तयारी गरेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिनुभयो । मोहोरियाटोल,नालामुख,तेर्छापट्टि,गिरिजाचोक,धर्मशिलावुद्घबिहार,नदिपुरचोक,कन्या क्याम्पस,बालमन्दिर हुँदै तुलसी घाटमा स्व. वजिमयको अन्त्येष्टि गरिने भुजलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

Comments
Loading...