पुनःनिर्माण गरिएको २०० वर्ष पुरानो हुडिकोट चौतारो उद्घाटन

हिमाली आवाज । सिलिङ्गे महिला चेतना समूहको सकृयतामा पुनर्निमित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको हुडिकोटस्थित दुई सय वर्ष पुरानो चौतारो आज उद्घाटन गरिएको छ ।

समूहको पन्ध्रौं वार्षिक साधारणसभाका अवसरमा आयोजित विशेष समारोहकाबीच गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले चौताराको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मन्त्री कंडेलले प्राचीन सम्पदाको संरक्षण हामीहरूको दायित्व भएको बताउँदै समूहको सकृयतामा दुई शताव्दी पुरानो चौतारो जनस्तरको सहयोगबाट पुननिर्माण गरिनु प्रशंसनीय कार्य भएको बताउनुभयो ।

नेपालका वाइसे चौवीसे राजाहरूको समयदेखि अस्तित्वमा आएको हुडिकोट सहित यस आसपासका कोटभैरव, देउराली लगायतका स्थानको पर्यटकीय सम्भावना उजागर गर्नका लागि मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

समूहका अध्यक्ष कर्णकुमारी महतले हुडिकोटको चौताराको ऐतिहासिक महत्व समेतलाई दृष्टिगत गरी एक लाख ५५ हजार ५५५ रुपैयाँ लागतमा जनस्तरको सहयोगबाट निर्माण गरिएको बताउनुभयो । समूहकै सकृयतामा मनियलडाँडाको चौताराका साथै ठाडाबारीमा प्रतिक्षालय निर्माण गरिएको र यहाँका पाण्डेबारी, सिलिङ्गेको चौतारा पनि पुननिर्माण गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य शोभा नेपालीले ऐतिहासिक चौतारा निर्माणसँगै विभिन्न सामाजिक काममा समूहले सकृयताका साथ काम गरिरहेको बताउँदै वडा भित्रका प्रत्येक सामाजिक काममा साथ र सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले पर्यटकीय रुपमा धेरै सम्भावना बोकेको हुडिकोट, मल्लकालिन कोटभैरव मन्दिर, देउराली मन्दिर आदिको प्रवद्र्धन गर्नु आवश्यक भएको बताउनुभयो ।

पोखराको फेवाताल सहित लेखनाथका तालहरू, माछापुच्छ«े लगायतका हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिने यस क्षेत्रको पर्यटकीय सम्भावना उजागर हुनु अपरिहार्य भएको उहाँले बताउनुभयो ।

समूहका अध्यक्ष कर्णकुमारी महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सरला महतले गर्नुभयो भने सञ्चालन सचिव सीता केसी महतले गर्नुभएको थियो । उक्त अवसरमा समाजसेवीहरू तीलक अधिकारी, पीताम्बर पौडेल, गुरुप्रसाद पौडेल, हरिराम पौडेल लगायतले समूहको सकृयता अनुकरणीय भएको बताउनुभयो ।उक्त अवसरमा मन्त्री कंडेलले नवनिर्मित चौतारामा बरको बिरुवा रोप्नुका साथै ज्येष्ठ नागरिक तथा चौतारो निर्माणका सहयोगदातालाई सम्मान गर्नुभएको थियो ।
माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ््खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ सहितको बृहत् पोखरा महानगर एकसाथ देख्न सकिने रमणीय हुडिकोटमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पुग्ने क्रम बढीरहेको छ । समुद्री सतहबाट एक हजार १४० मिटरको उचाइमा रहेको यो स्थलले समग्र भरतपोखरीको गरिमा र महत्व बढाएको यहाँका स्थानीयवासी बताउँछन् ।

उच्च पहाडी भू–भागमा रहेको यो ठाउँ सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण हिमालदेखि लम्जुङ हिमालसम्मका रमणीय दृश्यलाई एक साथ नियाल्न सकन्छ । यहाँबाट कास्की, तनहँु, लम्जुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत बागलुङ, म्याग्दी, स्याङ्जा जिल्लालगायत विभिन्न स्थान देखिन्छन् ।

पछिल्ला वर्षमा पोखराको विरौटा हुँदै पोखरा महानगरका बसका साथै पोखराबाटै पावरहाउस, गगनगौंडा हुदै मनियल डाँडासम्म स्थानीय मिनि बस गरी दुबैतर्फ सार्वजनिक यातायात समेत सञ्चालनमा आउँदा पर्यटकलाई ठूलै राहत महसुस भएको छ ।
मनियलडाँडा बसपार्कबाट निजी सवारी साधन हुने व्यक्तिहरू सवारीसधन लिएरै हुडिकोटसम्म नै पुग्न सक्छन् भने नहुनेले करिब १५ मिनेट हिड्नुपर्छ । पछिल्ला वर्षमा पर्यटकहरू आउने क्रम बढेसँगै मनियलडाँडा बसपार्कका साथै हुडिकोटमा नै होटल तथा रेष्टुरेन्ट बन्ने क्रमले पनि गति लिएको छ । पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी हुडिकोटमा स्थानीय युवाले हुडिकोट भ्यु प्वाइन्ट सेन्टर नामक होटेल सञ्चालनमा ल्याएका छन् ।
पृथ्वीराजमार्ग अन्तर्गतको पावरहाउस चोकबाट मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरि, चिलाउने, धारापानी, मनियलडाँडा, कोटभैरव हुँदै हुडिकोटसम्म हाइकिङ गर्न चाहनेले नौ किलोमिटर दूरी पार गर्नुपर्छ ।त्यस्तै पृथ्वीराजमार्ग अन्तर्गतकै आदर्शचोक भण्ढारढिकबाट पुल्चोक, बरेलीचोक, चैनपुर, भिरखोरिया, भर्तिपोखरा र ठाडाबारी हुँदै हुडिकोटसम्म पनि हाइकिङ गर्न सकिन्छ । अर्कोतर्फ दक्षिणतर्फ बगेको सुरौदी खोलामा केही ठाउँमा पक्की पुल निर्माण गर्न सके तनहुँको दुलेगौंडाबाट सुरौदी कुर्लिङबराहसम्म पर्यटकलाई यातायातका साधनमा ल्याएर त्यहाँबाट छहरा, लाङ्दी, पावनडाँडा, जामुने, कुलेस्वाहाँरा, कोलडाँडा, सिलिङ्गे, माझथर हुँदै हुडिकोटसम्म अर्को हाइकिङको मार्ग विस्तार गर्न सकिने स्थानीयवासी बताउँछन् ।

वर्षात् वा हिउँद जुनसुकै समयमा वरिपरिका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा पनि केही प्रभाव नपर्ने यो ठाउँबाट नाङ्गो आँखाले एकसाथ १४ जिल्लाको अवलोकन गर्न सकिन्छ । हुडिकोटबाट नजिकैको मल्लकालीन कोटभैरव मन्दिर पनि यहाँको अर्को धार्मिक पर्यटकीय आकर्षण हो । यो तीर्थस्थलमा कास्कीको साविकका भरतपोखरी, निर्मलपोखरी, कृस्ती गाविसका साथै स्याङ्जा र तनहँुका विभिन्न स्थानबाट दर्शनार्थीहरू आउने गर्दछन् ।
भैरवको स्मरणमात्रले पनि विपत्ति नष्ट हुने प्राचीन जनविश्वास यहाँको अर्को महत्वपूर्ण पक्ष हो । हाइकिङको मार्गमा नै रहेको हुडिकोट नजिकैको देउरालीमा लामो समयसम्म खडेरी परेमा स्थानीयवासी मिलेर पूजाआजा गरी पानी माग्ने गर्दछन् । ‘हरहर महादेव’ भन्दै पानी मागेमा त्यही दिन वा नभए एक दुई दिनभित्रमा पानी पर्ने गरेको स्थानीयवासी बताउँछन् ।

Comments
Loading...