Tiger Cup

स्थानीय तहका जनप्रतिनिधिको अवधि जेठ ५ मा सकिँदै, निर्वाचनको तयारी सुरु

काठमाडौँ । सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ ।

स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि सकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“स्थानीय तह पुनः पदाधिकारीविहीन त हुने होइन भन्ने सवालमा सरकार सचेत रहेको र लोकतन्त्र तथा लोकतान्त्रिक सङ्घसंस्थालाई जीवन्त राखेर जनतालाई सेवा सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौँ ।”

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रधानमन्त्री र निर्वाचन आयुक्तहरुसँग भएको छलफल बमोजिम आयोगले आन्तरिक तयारी सुरु गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक दोस्रो साता निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श गर्नुभएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

टिप्पणिहरु
Loading...