आन्तरिक राजश्व कार्यालय पोखराबाट उत्कृष्ट करदाता सम्मानित

हिमाली आवाज । आन्तरिक राजस्व कार्यालय पोखराले दशौँ राष्ट्रिय कर दिवसका अवसरमा आयोजना गरेको कर सप्ताहमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

कर सप्ताह(मङ्सिर १–७ गते) को समापनका अवसरमा आज पोखरामा एक कार्यक्रमकाबीच गत आर्थिक वर्षमा आयकरतर्फ बढी कर भुक्तानी गर्ने पोखरा महानगरपालिका–१३ मा अवस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारीलाई उत्कृष्ट करदाता घोषित गर्दै सम्मान गरियो ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले कोन सहकारीका अध्यक्ष तीर्थ बस्नेत लगायतका पदाधिकारीहरुलाई दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गर्नुभएको थियो ।
सो सहकारीले गत आर्थिक वर्षमा आयकर बापत रु ६७ लाख २९ हजार रुपैयाँ कर तिरेको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख रमेश शर्माले जानकारी दिनुभयो । सहकारीले वार्षिक रु चार अर्ब भन्दा बढीको कारोबार गरेको छ । कर सप्ताहका अवसरमा आन्तरिक राजश्व कार्यालय पोखराका कम्प्युटर अपरेटर दीपक पौडेल उत्कृष्ट कर्मचारी घोषित हुँदै सम्मानित हुनुभयो ।

कार्यक्रममा कर सप्ताहका अवसरमा आयोजित विभिन्न खेलकूद प्रतियोगितामा विजेता कर्मचारीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
प्रदेश सरकारका प्रमुख सचिव पन्थले कोभिड–१९ उद्योग व्यवसायमा प्रभाव पारेपनि कर सङ्कलन उत्साहजनक रहेको बताउनुभयो । उहाँले कर प्रशासनमा देखिएका कमीकमजोरी सुधार गरेर जानुपर्नेमा जोड दिँदै कर शिक्षा बढेका कारणले कर सङ्कलन उत्साहजनक भएको उल्लेख गर्नुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कर तिर्न आउने करदातालाई सहज सेवा प्रवाह हुनुपर्नेमा जोड दिँदै करका दायरा वृद्धि गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यालय प्रमुख शर्माले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा लक्ष्य भन्दा बढी कर सङ्कलन गर्न सफल भएको बताउनुभयो । प्रथम चौमासिकमा रु एक अर्व १५ करोड राजश्व सङ्कलनको लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी रु एक अर्व ५५ करोड जम्मा भएको कर अधिकृत विजय लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले करदातालाई सम्मान र कर तिर्न सहज हुनुपर्ने बताउनुभयो । उहाँले कर चुहावट हुनबाट रोक्न सबै सजग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Comments
Loading...