रामघाट भाडामा नदिन पोखरा महानगरसँग मजदुरको माग, कार्यबाहक प्रमुखलाई बुझाए ज्ञापनपत्र

हिमाली आवाज । सेती नदी किनार रामघाटमा वर्षौदेखी मजदूरी गर्दै आएका मजदुरहरुले प्राकृतिक सम्पदा निहित व्यक्ति वा कम्पनीलाई सुम्पने पोखरा महानगरको तयारीप्रति आपत्ति जनाएका छन् ।

सेती नदी मजदुर समूह पोखरा–९,१० र ११ शान्तिघाटका तर्फबाट ठूलो संख्यामा महानगर पुगेका मजदुरहरुले आज पोखरा महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापनपत्र बुझाउँदै मजदुरहरुको रोजीरोटी र श्रमलाई ध्यानमा राख्न माग गरेका हुन् । उनीहरुले व्यक्ति केन्द्रीत भन्दा पनि सुकुम्वासी जनता र मजदुरहरुको पक्षमा बालुवा खानी र रामघाट सञ्चालन गर्न आग्रह गरेका छन् ।

मजदुर समूहका अध्यक्ष सरिता कँडेलले ६०० घरधूरी सुकुम्वासी मजदुरहरु र नेपालभरिबाट काम गर्न आउने मजदुर रामघाटमा बालुवा खानीमा आश्रित रहेको बताउनुभयो ।महानगरपालिकाले बालुवाखानीबाट उठाउनुपर्ने राजश्व महानगरकै कर्मचारी राखेर संकलन गरिरहेकाले महानगरको आम्दानी र मजदुरको श्रमलाई ध्यानमा राख्न आग्रह गरिएको छ ।

मजदुरहरुको पक्षमा रामघाट सञ्चालन गर्न र कुनै पनि माफिया, दलाल, भूमाफिया, मजदुरमारा व्यक्ति वा कम्पनीलाई भाडामा नदिई प्राकृतिक सम्पदालाई जोगाउन महानगरसँग माग गरिएको अध्यक्ष कँडेलले बताउनुभयो ।

मजदुरहरुले शान्तिपूर्ण माग र आन्दोलनलाई कमजोरी नठान्न चेतावनी दिँदै कुनै व्यक्ति विशेष वा कम्पनीलाई वर्षौसम्मका लागि प्राकृतिक सम्पदा भाडामा लगाउने कार्य भएमा जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको जनाएको छ ।

Comments
Loading...