एभरेस्ट एफएमको प्रथम वार्षिकोत्सवः बालबालिकालाई न्यानो कपडा वितरण,भोली रक्तदान

हिमाली आवाज । एभरेस्ट मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित एभरेस्ट एफ एम ९३ मेगाहर्जले प्रथम बार्षिकोत्सबको अवसरमा बाराही आधारभुत विद्यालय खांदरजुङमा न्यानो कपडा वितरण गरेको छ ।

एफएमले शुक्रबार एक कार्यक्रमका विच माछापुच्छ्रे गाउँपालिका–२ खाँदरजुङमा अवस्थित विद्यालयका ४३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । एफएमले प्रत्येक विद्यार्थीलाई एक–एक थान ट्र्याक सुट वितरण गरेको रेडियोका निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यस अघि रेडियोले  शुभारम्भको अवसरमा गतवर्ष सामाजिक उत्तरदायित्व वहन अन्र्तगत मानवसेवा आश्रम पोखरालाई एक लाख ५० हजार सहयोग हस्तान्तरण गरेको थियो ।

सो कार्यक्रममा बोल्दै एफएमका अध्यक्ष कर्मकुमारी गुरुङले एफएमले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिम्मेवार पत्रकारीतासंगै सामाजिक उत्तरदायित्व प्रति हामी सचेत छौं । एभरेस्ट एफएम आवाज विहिनहरुको आवाज बनेर जनताको पक्षमा सँधै उभिने छ ।’ साथै उहाँले असाहाय, गरिब, दलित तथा सिमान्तकृत समुदायका बालबालिकाहरुको सहयोगका लागि सधै साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बि.सं. २०२१ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा चेपाङ तथा दलित समुदायका ४३ विद्यार्थीहरु अध्ययनरत छन् ।कार्यक्रममा एफएमका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, मार्केटिङ निर्देशक भोलाकुमार श्रेष्ठ र प्राविधिक निर्देशक रविभूषण पराजुलीको उपस्थिती रहेको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्र.अ.राम आचार्यले गर्नुभयो ।
रक्तदान कार्यक्रमको तयारी पूरा
यसैविच बार्षिकोत्सबको अवसरमा आयोजना गर्न लागिएको रक्तदान कार्यक्रमको तयारी पूरा भएको छ । शनिबार हुने  रक्तदान कार्यक्रमको आवश्यक तयारी पुरा भएको रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मंसिर महिनामा रक्तदानका कार्यक्रमहरु कम हुने हुँदा रगतको अभाव हुने र आफूहरुको वार्षिकोत्सव पनि पर्ने भएकाले संस्थैगत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागिताका लागि उहाँले सम्पूर्णमा अनुरोध गर्नुभयो ।कार्यक्रम एभरेस्ट एफएमको कार्यालय पोखरा–५ पस्र्याङमा शनिबार बिहान ७ बजेबाट शुरु हुने रेडियोले जनाएको छ ।

रक्तदान कार्यक्रममा १७ देखी ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनै पनि दिर्घरोगको औषधी सेवन नगरेका संक्रामक रोग नलागेका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने छन् ।रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वास्थ्य प्राप्ति हुने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरि कम भई शरिरको तौल घटाउन सघाउने लगायतमा फाइदा हुने विज्ञहरुको भनाई छ ।

यसका साथै रगतको विकल्प रगत मात्र भएकाले संकटमा परेकाहरुको जीवन बचाई खुशी दिलाउने र सामाजिक दायित्व निर्वाह गराई आत्म सन्तुष्टि प्रदान गर्नपनि रक्तदानको महत्व रहेको बताइन्छ ।

 

 

 

 

Comments
Loading...