कास्की काँग्रेसको मतदान सकियो,आजै गणना

हिमाली आवाज । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज कास्कीको नयाँ नेतृत्वका लागि मतदान सकिएको छ ।

काँग्रेसको जिल्ला अधिवेशनमा दुई हजार ८८ प्रतिनिधि रहेकामा पोखरा प्रदर्शनी केन्द्रमा नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २५ मत खसेको छ । मतदान सकिएको र आजै साँझ ८ बजेदेखी उद्योग बाणिज्य संघको हलमा मतगणना सुरु गरिने काँग्रेसका युवा नेता शंकर बास्तोलाले जानकारी दिनुभयो ।

कास्की जिल्ला सभापतिका लागि आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरिराज गौतम, पोषनाथ शर्मा र सुदिपमोहन भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचनमा ५१ प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारी विजयी हुनेछन् ।

काँग्रेसको पहिलो चरणको निर्वाचनबाट सभापति निर्वाचित हुने सम्भावना कम रहेको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएको खण्डमा सर्वाधिक मत ल्याउनेका बीचमा पुनः मतदान हुनेछ ।

यसैगरी कास्की काँग्रेसको उपसभापतिमा १० जनाको उम्मेद्वारी परेको छ । जसमा कृष्णप्रसाद ढुंगाना, नाराण कुमार श्रेष्ठ, पिताम्बर पौडेल, प्रज्वल रञ्जित, विजयराज भण्डारी, युवराज कुँवर, रामबहादुर भण्डारी, रंगिला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद शर्मा लामिछानेले उम्मेद्वारी दिनुभएको छ ।

सचिवमा अमृत कुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सिना, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, भानुभक्त ढकाल, महेन्द्र पुन, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल र सिरोज कोइरालाले उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ ।

सहसचिवमा कृष्णमान ठुसाजु, गणेशबहादुर थापा खत्री, जयप्रकास थापा, देवराज गुरुङ, नवीन सिग्देल, भीम गौतम, लक्ष्मण पहारी, विकाश थापा र शंकर ढुंगानाको उम्मेदवारी छ ।

Comments
Loading...