म्याग्दीमा जीप दुर्घटना, वडा सदस्य सहित चार जनाको मृत्यु,घाइतेलाई पोखरा ल्याइयो

हिमाली आवाज । म्यादीमा आज साँझ भएको सवारी दुर्घटनामा परी चार जनाको ज्यान गएको छ ।

बेनी देखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा दुर्घटना हुँदा चार जनाको मृत्यु र थप चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङका अनुसार ३० वर्षीया गौमाया बिक, अन्दाजी ३५÷४० वर्षका दुढबहादुर थापा, २५÷३० बर्षका खिमु पुन र ४५÷५० वर्षका खिमानन्द शर्माको मृत्यु भएको छ ।

मृतक र घाइते सबै बेगका हुन् । गौमाया रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्य हुनुहुन्छ । जिपका चालक दुढबहादुर र गौमायालाई उपचारका लागि बेनी ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

खिमु र खिमानन्दको घटनास्थलमै मृत्यु भएको हो । ५४ वर्षीय बलबहादुर बिक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भिम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जालाई बेनी अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ ।

प्रहरीका अनुसार जिप सडक देखि करिब तीन सय मिटर तल खसेको थियो । स्थानीयबासी र सुरक्षाकर्मीको टोलीले घाइतेको उद्धार गरेका थिए । दुर्घटना बारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।

मृतकको शव बेनी ल्याउन गाउँपालिकाको गाडी पनि प्रयोग भएको थियो । गण्डकी प्रदेश म्याग्दी क्षेत्र कबाट निर्बाचित सांसद बिनोद केसी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, उपसभापति केबी भण्डारी ले बेनी अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

Comments
Loading...