कास्कीको अन्नपूर्णमा बाग्लुङ जाँदै गरेको बस दुर्घटना, चालकको मृत्यु,आठ घाइते

हिमाली आवाज । पोखरा–बाग्लुङ सडक खण्डमा आज विहान बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने आठ यात्रु घाइते छन् ।

भैरहवाबाट बाग्लुङ तर्फ जाँदै गरेको लु १ ख ७७६६ नम्बरको को बस विहान ६ः५० बजेको समयमा कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्ती स्थित पोखरा–बाग्लुङ सडक खण्डमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो ।

दुर्घटनामा बसका चालक पाल्पा घर भएका अन्दाजी ४५ वर्षीय भुपेन्द्र भन्ने भुपनाथ खनालको उपचारक्रमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विहान ९ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालकलाई बसले च्यापिएको अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो ।

यसैगरी घटनामा बसमा सवार आठ यात्रु घाइते भई पोखराका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस स्थानीय जुम काजी विकको गोठ,भान्सा घर र ट्वाईलेट माथि खसेको थियो ।

दुर्घटामा परी घाइते हुनेहरुमा बाग्लुङ नगरपालिका–६ लहरेपीपल बस्ने २९ वर्षीय शिवराम शर्मा,बाग्लुङ ठुलढुङ्गा बस्ने ४८ वर्षीया कृष्ण खड्का,बाग्लुङ नगरपालिका–१४ बलेवा बस्ने २५ वर्षीय राजु श्रेष्ठ, उहाँका बुबा ८५ वर्षीय उमलाल श्रेष्ठ,बाग्लुङ नगरपालिका–२ निवासी ४२ वर्षीय सुवर्ण सापकोटा, पर्वत फलेवास नगरपालिका –४ बस्ने ३५ वर्षीय सूर्य तिवारी ,चितवन भरतपुर महागनरपालिका–३ साधना उपाध्याय र अन्नपूर्ण गाउँपालिका–३ पाउदुर बस्ने माया विक रहनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रनाउ तिवारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलबाट घाइतेहरुको उद्धार गरेको थियो ।

Comments
Loading...