कास्कीका पालिकामा माओवादी केन्द्रको नेतृत्व चयनमा सकस

हिमाली आवाज। नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)लाई यहाँका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ ।
देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले यहाँका पाँच पालिका मध्य तीन वटामा अझै नेतृत्व चयन गर्न सकेको छैन ।

मादी र रुपा गाउँपालिका कमिटीमा नेतृत्व चयन गरिएपनि भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगर सहित अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा अध्यक्षका आकाङ्क्षीबीचमा सहमति नजुट्दा नेतृत्व चयन गर्न अप्ठ्यारो परेको हो ।

माओवादीको सबै पालिका कमिटीमा नेतृत्वका लागि एक भन्दा बढीको दावी छ । पार्टीले सर्वसम्मत नेतृत्व चयनलाई पहिलो प्राथमिकतामा राखेपनि कसैले पनि आफ्नो दावी नछाड्दा सहमति बन्न सकेको छैन । नेतृत्व चयन हुन बाँकी पालिकामा पालिका कमिटीका सदस्यहरुको टुङ्गो लागेपनि अध्यक्ष र पदाधिकारी चयन बाँकी छ ।

माओवादीका जिल्ला संयोजक बखानसिँह गुरुङले नेतृत्व चयन हुन बाँकी पालिकाका अध्यक्ष लगायतका पदाधिकारी सहमतिका आधारमा टुङ्गो लगाउने प्रयास जारी रहेको बताउनुभयो । मङ्सिर २५ गते हुने प्रदेश अधिवेशन अघि सबै पालिकामा नेतृत्व चयन गरिसक्ने लक्ष्य अनुसार आकाङ्क्षीहरुका बीचमा बसेर छलफल गरिएको र निचोडमा पुग्ने दावी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो,“नेतृत्व चयन गर्न बाँकी पालिकामा प्रदेश अधिवेशन अगावै नेतृत्व चयन गर्ने गरी छलफल भइरहेको छ । सहमतिका लागि अधिकतम प्रयास गछौँ । सहमति नबने विधानमा भएको व्यवस्था अनुसार निर्वाचन प्रक्रियाका माध्यमबाट समेत नेतृत्व छनोट गर्नेछौँ । ”
पोखरा महानगरको बुधबार कमिटीको बैठक बसेर नेतृत्व चयनको प्रयास गरिने माओवादीले जनाएको छ ।

माछापुच्छ«े र अन्नपूर्णमा पनि छिट्टै प्रक्रियामा लगिने बताइन्छ । नेतृत्वका आकाङ्क्षीहरुले आफ्नो दलिल पेश गर्नु जायज रहेपनि लचकता अपनाउन पार्टीले आग्रह गरेको संयोजक गुरुङले बताउनुभयो ।

नेतृत्वका आकाङ्क्षीहरुले भने लामो समय पार्टी कमिटीलाई अनिर्णको बन्दी नबनाउन पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । माछापुच्छ«े गाउँ कमिटीमा अध्यक्षका आकाङ्क्षी सुनिल दाहालले छिटो निर्वाचन प्रक्रिया सम्पन्न गर्न आग्रह गर्नुभयो । लामो समय नेतृत्व टुङ्गो नलाग्दा नेता कार्यकर्तामा उत्साह कम हुँदै जाने भएकाले छिटो गर्न भनिएको उहाँले बताउनुभयो ।

पालिका अधिवेशन अन्तर्गत माओवादीले जिल्लाको मादी गाउँपालिकामा तोरण गुरुङ, रुपामा नवराज बराल र मजदुर विशेष शाखामा टंक पौडेलेका अध्यक्षतामा ५५ सदस्सीय कमिटी निर्वाचित गरेको छ ।

आगामी पुसमा राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले वडा र पालिका अधिवेशन सम्पन्न गरेको छ । यही मङ्सिर २५ गते माओवादीले देशका सात वटै प्रदेशमा एकै दिन प्रदेश अधिवेशन गर्न लागेको छ ।

Comments
Loading...