पोखराबाट सिटी वान टेलिभिजनको नियमित प्रसारण सुरु

हिमाली आवाज । पोखराबाट सिटी वान टेलिभिजनले आफ्नो नियमित प्रसारण सुरु गरेको छ ।पोखरा–९ नयाँबजारमा कार्यालय स्थापना गरेको टेलिभिजनले हिजोदेखी औपचारिक रुपमा नियमित प्रसारण सुरु गरेको हो ।

टेलिभिजनको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सञ्चार माध्यमले शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनताको पक्षमा वकालत गर्नुपर्ने बताउनुभयो ।प्रेसले जनताको पक्षमा वकालत गर्ने दायित्व पूरा गर्न नसक्दासम्म लोकतन्त्त सवल नहुने भनाई प्रदेश प्रमुखको छ ।

उहाँले भन्नुभयो,“अहिलेको कडा प्रतिस्पर्धाको जमानामा व्यावसायिक पत्रकारितासँगै मिडियाले सरकारले गरेका कमी कमजोरी र निम्न तहका जनताका समस्या उजागार गर्नुपर्दछ ।”

प्रदेश प्रमुख गुरुङले नेपालको मिडिया क्षेत्र अहिले आम नेपालीको अधिकार सुनिश्चित गर्ने काममा निकै अगाडि रहेको उल्लेख समेत गर्नुभयो । टेलिभिजनले मानवअधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चार माध्यम खोल्ने प्रतिस्पर्धा रहेको अहिलेको समयमा व्यावसायिक पत्रकारिताको मर्म, सिद्धान्त र आदर्शलाई आत्मसात गरेर सञ्चालन गर्नु र अगाडि बताउनु मुख्य कुरा रहेको बताउनुभयो ।

नेपालका सञ्चार माध्यमहरुले जनजीवीकाका विषयहरुलाई त्यति धेरै महत्व नदिएको महसुस स्वयमं पत्रकारहरुले समेत गरेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो,“टेलिभिजन र सञ्चार माध्यमको सङ्ख्यात्मक वृृद्धिसँगै जनताको मुद्धा, जनताको दुःख पीडा कति मुखरित भएको छ भन्ने महत्वपूर्ण छ । सञ्चार माध्यमहरु अझ बढी जनमूखी हुँदै जनताका प्राथमिकताहरुलाई उठाउनु आवश्यक छ ।”

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले आम नागरिकको स्वतन्त्रताको मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
गण्डकी प्रदेशका शिक्षा संस्कृती विज्ञान प्रविधि तथा समाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले प्रदेशको समृद्धिमा टेलिभिजनले सघाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग बाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उद्योग व्यवसाय, पर्यटन, शिक्षा लगायतका क्षेत्रका मुद्धाहरु टेलिभिजनले उठाउनुपर्ने बताउनुभयो ।

टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापतिले कोरोना कहरकाबीचमा पनि टेलिभिजन सञ्चालनमा ल्याउनु चूनौतीपूर्ण रहेपनि दुर दराजका आवाज विहीनहरुको आवाजलाई आम दर्शक माझ ल्याइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।टेलिभिजनका कार्यक्रमहरु विभिन्न सामाजिक सञ्जाल तथा मोवाइल एप्स , वेभसाइट मार्फत हेर्न सकिने प्रवन्ध निर्देशक अनिषा श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...