कांग्रेस केन्द्रीय सदस्यमा लक्ष्मी पाण्डेद्वारा उम्मेद्वारी घोषणा

हिमाली आवाज । महिला सशक्तिकरणका मुद्दामा होस् वा चाहे मुलुकका निम्ति प्रजातन्त्र र लोकतन्त्र सुदृढीकरणका मुद्दामा होस्, जहिल्यै अग्रपक्तिंमा देखिनुहुन्छ कांग्रेस नेता लक्ष्मी पाण्डे ।

नेपाली कांग्रेस जिल्ला समिति कास्कीको कोषाध्यक्षको कार्यकाल सफलतापूर्वक हालै मात्र सम्पन्न गर्नुभएका पाण्डेले केन्द्रीय राजनीतिमा ‘डेब्यू’ गर्ने आंकाक्षा व्यक्त गर्नुभएको छ ।

मंसिर २४ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा उहाँले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । पाण्डे कास्की क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।

तीन दशकभन्दा बढी अवचिलित कांग्रेसको राजनीतिमा क्रियाशिल पाण्डे तमाम् महिलाहरु निम्ति प्रेरणाको स्रोत बन्नुभएको छ । साथै, उहाँले सम्हाल्ने जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने गर्नुभएको छ । त्यसको पछिल्लो उदाहरण हो कास्की समितिको कोषाध्यक्षको कार्यकाल ।

देशभरीका कांग्रेस जिल्ला समिति कोषाध्यक्षहरुको राष्ट्रिय समितिको महासचिव रहनुभएका पाण्डेले २०७६ चैतमा एउटा सम्मेलन पोखरामा आयोजना गर्न सफल हुनुभएको थियो ।

‘महिलालाई नेतृत्व दिएको ठाउँ असफल भएको छैन,’उहाँले भन्नुभयो,‘त्यसकै दृष्टान्त कास्कीमा मैले कांग्रेसको कोषाध्यक्ष हुँदा जिम्मेवारी निभाएर प्रमाणित गरेकी छु भन्ने ठानेकी छु र सबै प्रतिनिधिहरुले मलाई हौसला दिनुभएको छ ।’ कोषाध्यक्षहरुको राष्ट्रिय समितिले पनि आफूलाई केन्द्रीय सदस्यमा उभ्याएको पाण्डेले सुनाउनुभयो ।

Comments
Loading...