गण्डकीका मुख्यमन्त्री पोखरेलद्धारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिको १० औं पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको चौंधौं महाधिवेशनमा उहाँले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि १ पटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उहाँ १२ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ ।

सहमहामन्त्रीमा चर्चा चले पनि अन्ततः उनले केन्द्रीय सदस्यमै उम्मेदवारी दिने टुँगोमा पोखरेल पुग्नुभएको बताइन्छ । युवापुस्तालाई पार्टीको नेतृत्वमा पु¥याउनका लागि सहमहामन्त्रीमा उनीहरुलाई अवसर दिनकै लागि आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको पोखरेलको बताउनुभयो । मुलुकलाई अप्ठेरो परेका बेला निकास दिने नेपाली कांग्रेस नै भएकाले अबका चुनावमा प्रष्ट बहुमत ल्याउनका लागि त्यसै अनुसारको तयारी गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जेठ २९ गते गठन भएको आफू नेतृत्वको सरकारले हतारमा बजेट ल्याउनु परे पनि नागरिकले अनुभूति गर्ने गरी काम गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘६ महिनामै चमत्कार भयो भनेर म भन्दिनँ तर पनि केही उदाहरणीय काम गरेका छौं ।’

महिलाका लागि स्तन र पाठेघरको क्यान्सरको निशुल्क उपचार, प्रदेशलाई सडक मानवमुक्त घोषणा, कोरोनाले अभिभावक गुमाएका बालबालिकालाई शिक्षाका लागि मासिक ५ हजार रुपैयाँ प्रदान लगायतका लोकप्रिय काम पोखरेल नेतृत्वको सरकारले यो अवधिमा गरेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाई ५० हजार रुपैयाँ, साना व्यवसायीका लागि व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

Comments
Loading...