युआरएल पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार बास्तोला सम्मानित

हिमाली आवाज । पत्रकार हरिप्रसाद बास्तोलालाई यस वर्षको युआरएल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले बिहीबार आयोजना गरेको वार्षिकोत्सव समारोहमा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले बास्तोलालाई पुरस्कार प्रदान गर्नुभयो । पुरस्कार राशि नगद २० हजार र ताम्रपत्र छ ।

पत्रकार बास्तोला राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत हुनुहुन्छ । गण्डकी प्रदेशको पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कार स्वास्थ्य बिटमा गण्डकी प्रदेशलाई केन्द्र बनाएर क्रियाशील १ पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरिन्छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री गुरुङले जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

महामारीले यो क्षेत्रमा निकै ठूलो चुनौती थपेको उल्लेख गर्दै उहाँले निजी क्षेत्रसँग सहकार्य गर्दै सरल र सुलभ तवरले स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख गर्नुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति एवं चिफ कन्सल्टेन्ट फिजिसियन प्राडा बुद्धिबहादुर थापाले पछिल्लो समय नेपालले स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको बताउनुभयो । उहाँले राजधानी र विदेश पठाउनुपर्ने रक्त परीक्षण पोखरामै उपलब्ध गराउने युआरएल जस्ता प्रयोगशाला हरेक प्रदेश र जिल्ला जिल्लामा स्थापना हुनुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका सिनेटर मीनबहादुर गुरुङले राज्यका नीति, नियम र मापदण्ड पालना गरी युआरएलले गुणस्तर सेवामा छुट्टै पहिचान बनाएको बताउनुभयो । युआरएल पत्रकारिता पुरस्कार छनोट समिति संयोजक दीपेन्द्र श्रेष्ठले साढे ३ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार बास्तोलालाई पुरस्कृत गर्दा पत्रकारिता क्षेत्रनै सम्मानित भएको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले युआरएलले गुणस्तरीय सेवासँगै सेवा प्रवद्र्धनका लागि सामाजिक कार्य र सञ्चार माध्यमसँग सहकार्य गरी नमुना काम गरेको बताउनुभयो । अफिन गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेले स्वास्थ्य क्षेत्रमा सरकार भन्दा ३ गुणा बढी हिस्सा निजी क्षेत्रको भए पनि सरकार निजी क्षेत्र मैत्री हुन नसकेको गुनासो गर्नुभयो ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले राज्यका मापदण्ड पालना गर्दै गुणस्तरीय सेवा दिएर प्रदेशलाई प्रयोगशाला क्षेत्रमा आत्मनिर्भर बनाउन लागि परेको बताउनुभयो । उहाँले ५ करोडभन्दा बढी लगानी गरी हालै पोखराको हस्पिटलचोकमा शाखा सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

युआरएलका निर्देशक सन्दीप अर्यालले आफूहरुले सेवापछिको नाफामा विश्वास गर्ने बताउँदै उहाँले गुणस्तरीय सेवा दिन कर्मचारीलाई तलिम, क्वालिटी अडिट जस्ता विधि अपनाइएको जानकारी दिनुभयो ।

युआरएलका अर्थ निर्देशक गणेश कोइरालाले संसारकै सर्वाेत्कृष्ट प्रविधि, दक्ष जनशक्ति र सेवाग्राहीको विश्वासले युआरएल यहाँसम्म आएको बताउनुभयो ।

यो पुरस्कारबाट अहिलेसम्म पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भइसक्नुभएको छ ।

पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युआरएलले शाखा कार्यालय हस्पिटलचोकसहित दुलेगौंडा, दमौली, बेशीसहर र वालिङमा सेवा विस्तार गरेको छ । हालसम्म ४ लाखभन्दा बढीलाई सेवा दिइसकेको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सयभन्दा बढी स्वास्थ्य शिविर र सचेतना कार्यक्रम गरेको छ ।

Comments
Loading...