पोखरामा ट्रक दुर्घटना : दुई जनाको मृत्यु

हिमाली आवाज । पोखरामा आज विहान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नामथर वतन नखुलेका अन्दाजी ४०÷४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

पृथ्वीराजमार्ग स्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नं.को फलामे छड (रड) बोकेको ट्रक आफै अनियन्त्रित भई विहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएपछि दुबै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा विहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । सवारी धनी र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ तिवारीले बताउनुभयो ।

Comments
Loading...