माओवादी प्रदेश अधिवेशन :गण्डकीका सबै शीर्ष नेता भोली पोखरामा जुट्दै

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन भोली मंसिर २५ गतेदेखी सुरु हुँदैछ ।
पोखरा सभागृहमा दुई दिनसम्म चल्ने अधिवेशनले प्रदेशको नेतृत्व चयन गर्नेछ । प्रदेश अधिवेशनका अवसरमा माओवादी केन्द्रका गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै शीर्ष नेताहरु भोली पोखरामा भेला हुन लागेका छन् ।

गण्डकीमा स्थायी बसोबास भएका पार्टी स्थायी समितिका सदस्य, केन्द्रीय समितिका सदस्य,प्रतिनिधि सभाका सांसद, केन्द्रीय सल्लाहकार र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरुलाई अधिवेशनमा आतिथ्यताका लागि निमन्त्रणा गरिएको माओवादी केन्द्र गण्डकी प्रदेश समितिका अध्यक्ष हरि अधिकारीले बताउनुभयो ।

अधिवेशनमा पार्टी विदेश विभाग प्रमुख एवं वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य देव गुरुङ, दीनानाथ शर्मा, शिक्षा संस्कृती तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेल, गण्डकी प्रदेशका इन्चार्ज हितराज पाण्डे, अनेमसंघ(क्रान्तिकारी)का अध्यक्ष अमृता थापामगर, केन्द्रीय सदस्यहरु खिमलाल देवकोटा लगायतका नेताहरु सहभागी हुने बताइएको छ ।

अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक÷एक जना गरी सात सदस्सीय पदाधिकारी सहित २२९ सदस्सीय प्रदेश समिति निर्वाचित हुने माओवादीले जनाएको छ ।प्रदेशको प्रथम अधिवेशन विशेष गरी विचार निर्माण र सङ्गठनात्मक काममा मुख्य केन्द्रीत बताइन्छ ।

प्रदेश इन्चार्ज पाण्डेले भन्नुभयो,“माओवादी केन्द्रलाई गण्डकी प्रदेशमा प्रमुख शक्तिका रुपमा स्थापित गर्ने गरी सङ्गठनात्मक कामलाई कसरी अघि बढाउने भन्ने बारेमा अधिवेशनमा गहन छलफल गछौँ । अधिवेशनमा विशेष गरी विचार निर्माण र समाजवादको मोडलका बारेमा छलफलमा बढी केन्द्रीत हुनेछ र नयाँ नेतृत्व चयन गरिनेछ ।”

माओवादीले प्रथम प्रदेश अधिवेशनको तयारी पूरा भएको र ८४६ प्रतिनिधि सहभागी हुने जनाएको छ । प्रदेश कमिटीका सचिव एवं प्रवक्ता देवेन्द्र पराजुलीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिँदै प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधिहरु पोखरा आउने क्रम सुरु भएको बताउनुभयो ।

पोखरा सभागृहमा हुने अधिवेशनमा प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तह, मनोनित प्रतिनिधि,आयोजक समिति सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रदेश सल्लाहकार सहभागी हुनुहुनेछ ।

प्रदेशको अधिवेशनमा पालिकाहरुबाट निर्वाचित ६०० जना, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी हुने माओवादीले जनाएको छ ।

एक गैरभौगोलिक शाखा सहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा पार्टीका अधिकांस अधिवेशनहरु सम्पन्न भई पालिका समितिहरु निर्वाचित भएका छन् ।

अधिवेशनका अवसरमा कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने र जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न क्षेत्रसँग सम्बन्धीत व्यक्ति र उहाँहरुको परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रवक्ता पराजुलीले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशको प्रथम अधिवेशनको भोली एकैसाथ अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

Comments
Loading...