शिक्षामन्त्री पौडेल जब पोखराको एक विद्यालयको कक्षा कोठामा प्रवेश गर्नुभयो….

हिमाली आवाज ।  पोखरा महानगरपालिका–१२ स्थित शितलादेवी सामुदायिक विद्यालय । आइतबार दिउँसो ३ ः०० बजेको समय होला शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेल एक्कासी विद्यालयभित्र प्रवेश गर्नुभयो ।

मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भएन । मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै कक्षा कोठामा प्रवेश गर्नुभयो । माथिल्लो तलामा कक्षा ५ का विद्यार्थीलाई अध्यापन गराउँदै हुनुहुन्थ्यो शिक्षिका प्रिति ढकाल । नौलो व्यक्ति कक्षामा प्रवेश गरे लगत्तै सबै विद्यार्थी आफ्नो स्थानबाट उठे ।

विद्यार्थी आफ्नो सिटमा बसेपछि शिक्षामन्त्री पौडेलले विद्यालयमा पढाईका विषयमा विद्यार्थीलाई सोध्नुभयो । गृहकार्य गरे÷नगरेको बारेमा जिज्ञासा राख्नुभयो । सबैले नियमित गृहकार्य गर्ने गरेको, शिक्षक कक्षा समयमा सँधै समयमै उपस्थित हुने गरेको मन्त्री पौडेललाई बताउनुभयो ।
मन्त्री पौडेल विद्यार्थीलाई राम्रोसँग पढ्न र गुरुहरुले मानेर अनुशाशित हुन आग्रह गर्दै केही समयमै कक्षा कोठाबाट बाहिरिनुभयो । राम्रो अध्ययन गरेर देशको ठूलो मान्छे बन्न उहाँले विद्यार्थीलाई भन्नुभयो ।

शिक्षा क्षेत्रको प्रमुख नियमनकारी निकाय र सामुदायिक शिक्षा सुधार्ने प्रमुख जिम्मेवारी रहेको शिक्षा मन्त्रालयका मन्त्री पौडेलले आकस्मिक विद्यालय निरीक्षण गर्दा विद्यालयका कसैलाई पूर्व जानकारी थिएन ।

मन्त्री पौडेल एक्कासी विद्यालय निरीक्षणमा निस्किदा र पछि मात्र मन्त्री आएको जानकारी पाएपछि शिक्षक विद्यार्थीले अचम्म माने ।
शिक्षिका ढकालले भन्नुभयो,“शिक्षामन्त्री विद्यालय आउने बारेमा स्कुलमा कसैलाई पनि जानकारी दिएन । अन्य बेला पनि भिजिटरहरु आउनुहुन्थ्यो , त्यही भएर कोही आउनुभयो होला भन्ने सुरुमा ठानेको थिएँ । शिक्षामन्त्रीनै कक्षा कोठामा पाएपछि त अन्एक्सपेक्टेड भयौँ ।”
शिक्षामन्त्री पौडेलले विद्यालयमा जिम्मेवारी पाएका शिक्षक तथा प्रधानाध्यापकबाट ठीक ढङ्गले जिम्मेवारी निर्वाह भए नभएको बुझ्ने र शैक्षिक समस्याका बारेमा सरोकार भएकाहरुसँग जानकारी लिनका लागि आकस्मिक विद्यालय निरीक्षण गरिएको बताउनुभयो ।

राजधानी काठमाडौँका केही विद्यालयमा पनि यसअघि यस्तै प्रकृतिको आकस्मिक निरीक्षण गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो,“शिक्षक कक्षा कोठामा छन् की छैनन् ? विद्यार्थीले पढेका छन् की के छन् भनेर आकस्मिक निरीक्षण सुरु गरेका छौँ । यसबाट कमजोरी फेला परेको खण्डमा सम्बन्धीत व्यक्ति वा संस्थालाई सुधारका लागि आग्रह गर्ने गरिएको छ । ”

मन्त्री पौडेलले सामुदायिक विद्यालयहरु मध्ये राम्रो पढाई भएका र कमजोर पढाई भएका गरी दुई श्रेणीमा विभाजन गरी निरीक्षण गरेर शिक्षण, विधि, प्रशासनिक अवस्था, लगायतका बारेमा अध्ययन गर्ने गरिएको जानकारी दिनुभयो । मन्त्री पौडेलले शिक्षक विद्यार्थी अनुपात, भौतिक पूर्वाधार र शैक्षिक वातावरणका बारेमा जानकारी लिनुभएको थियो ।विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले शिक्षा मन्त्रीनै आएर निरीक्षण गर्दा आफूहरु गौरवान्वित भएको बताउनुभयो ।

विद्यालयलाई सम्झेर विद्यालय परिसरभित्र मन्त्री प्रवेश गरेर उहाँलाई अवस्थाका बारेमा जानकारी गराउँदा खुःशी लागको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,“मन्त्रीलाई विद्यालयको समग्र पक्ष, शैक्षिक प्रगति सहित विद्यालयका समस्याका बारेमा राख्ने अवसर मिल्यो । शिक्षक दरवन्दी समस्या समाधानमा उहाँले पहल गर्नुहोला भन्ने विश्वास छ ।”

Comments
Loading...