माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
प्रदेश समितिको मङ्सिर २५ गतेदेखी पोखरामा सुरु भएर आज विहान सम्पन्न प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो ।

अध्यक्षमा चयन हुनुभएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक समेत हुनुहुन्छ । उहाँ अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहनुभएको छ ।

जनयुद्धको सुरुआतदेखी भूमिगत भएर उहाँ माओवादी आन्दोलनमा होमिनुभएको थियो । जनयुद्धका क्रममा उहाँले पर्वत, मनाङ, कास्की लगायतका जिल्लामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको थियो । विसं २०४८ मा स्कुल पढ्दै गर्दा विद्यार्थी संगठनमा आवद्ध भएर उहाँको राजनीतिक यात्रा सुरु भएको थियो ।

अध्यक्षमा निर्वाचित भएपछि प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै गुरुङले गण्डकी प्रदेशको माओवादी केन्द्रको पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशिल रहने बताउनुभयो ।

अधिवेशनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरेपनि अन्य पदाधिकारी भने चयन गरेको छ । नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिनुभयो । माओवादी केन्द्रले मङ्सिर २५ गते एकै दिन सात भौगोलिक प्रदेश र दुई गैरभौगोलिक प्रदेशको सम्मेलन आयोजना गरेको थियो ।

Comments
Loading...