१९ करोड लागतमा पोखरा महानगरको सुविधासम्पन्न प्रशासकीय भवन बन्दै

सविना राना

हिमाली आवाज । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आफ्नो सुविधासम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरेको छ ।

पोखरा–८ नयाँबजारस्थित दमकलमार्गमा महानगरको आफ्नै चार रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आज महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले शिलान्यास गर्नुभयो ।

साविक पोखरा नगरपालिका हुँदादेखीको साँघुरो भवनबाट सेवा दिँदै आएको महानगरले यसअघि पटक÷पटक भवन निर्माणका लागि जमिन खोजी गरेको थियो । तर जमिन अभावमा प्रशासनीक भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

महानगरका अनुसार ‘अन्डरग्राउण्ड पार्किङ’ सहितको पाँच तलाको भवन रु १९ करोड पाँच लाख छ हजार ३०८ लागतमा निर्माण हुनेछ ।
सो भवन आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी भूमि बुद्ध÷ओम बुद्ध जेभी विराटनगरसँग गत असोज १० गते ठेक्का सम्झौता गरिएको महानगर वरिष्ठ इन्जिीनियर पूर्णबहादुर गुरुङले बताउनुभयो ।

भवन शिलान्यास गर्दै उपप्रमुख गुरुङले भवन निर्माणपछि महानगरका सबै महाशाखाहरु एउटै भवनमा रहने र प्रदान गरिने सेवा समेत प्रभावकारी हुने बताउनुभयो । उहाँले निर्धारित समयभित्रमा गुणस्तरीय रुपमा निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।

हाल महानगरका विषयगत कार्यायल र महाशाखाहरु फरक फरक स्थानमा रहँदा नागरिकले सहज सेवा पाउन सकेको छैनन् ।प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले विकासँग जोडिएको प्रशासकीय भवन निर्माणका लागि सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो ।

स्थानीयवासीले भने महानगरको सो जमिन भएको क्षेत्रलाई खुलानै राखेर उद्यानका रुपमा विकास गर्नुपर्ने भन्दै शिलान्यासमा केही बेर अवरोध गरेका थिए ।

Comments
Loading...