पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु, प्रहरी घाइते

हिमाली आवाज । पोखरामा आज भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन् ।

पोखरा महानगरपालिका–९ स्थित चाईनापुलमा पृथ्वीचोकबाट बुद्धचोक तर्फ जाँदै गरेको ग १४ प ५८२२ नं.को स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको बा ०३–००१ ख १८१५ नं. को ट्रकले दिउँसो अन्दाजी १२ः३० बजे ठक्कर दिँदा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका –१४ काजीपोखरी बस्ने ६० वर्षीया शान्तिमाया पुनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्तर तिवारीले जानकारी दिनुभयो ।

दुर्घटनामा स्कुटर चालक गुल्मी चारपाला गाँउपालिका–४ घर भई जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत ४२ वर्षीय प्रहरी सहायक निरीक्षक डिल बहादुर सोमरे सामान्य घाइते हुनुभएको प्रनाउ तिवारीले बताउनुभयो ।

उहाँका अनुसार मृतक पुन प्रहरी सहायक निरीक्षक सोमरेका सासुआमा हुनुहुन्छ । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

Comments
Loading...