रासस गण्डकीका सेवा निवृत्त पौडेलको बिदाई

हिमाली आवाज । राष्ट्रिय समाचार समिति, गण्डकी प्रदेश कार्यालय पोखरामा ३६ वर्ष भन्दा बढी स्थायी सेवामा रही काम गर्नुभएका भोलानाथ पौडेलको एक कार्यक्रमकाबीच आज विदाई गरिएको छ ।

रासस गण्डकी प्रदेश कार्यालय पोखरामा आयोजित कार्यक्रममा रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, सहायक समाचारदाता हरिप्रसाद बास्तोला लगायतले उहाँको विदाई गर्नुभयो ।

कार्यक्रममा रासस गण्डकी प्रदेश प्रमुख पौडेलले आफ्जो जीवनको लामो समय राससको सेवामा खर्चिनु भएका भोलानाथले गर्नुभएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

सेवामा रहँदा कर्तव्यनिष्ठता, इमान्दारिता एवम् जिम्मेवारिता जस्ता गुणहरू आँफूले पौडेलमा पाएको बताउँदै उहाँले सेवानिवृत्त जीवन सामाजिक सेवाका क्षेत्रमा लगाउनुहुने विश्वास व्यक्त गर्नुभयो ।

सहायक समाचारदाता हरिप्रसाद वास्तोलाले राससको सेवा अवधिभर पौडेलले निरन्तर कामप्रतिको लगाव र इमान्दारिता देखाउनुभएको उल्लेख गर्दै सेवा पछिको जीवन स्वस्थ र सकृय बन्ने कामना गर्नुभयो ।

रासस जिल्ला समाचारदाताद्वय जमुना वर्षा शर्मा र कृष्ण दवाडीले पौडेलको सेवानिवृत्त जीवनको सकृयता, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो ।

२०४२ साल साउन १ गतेदेखि राससको स्थायी सेवामा प्रवेश गर्नुभएका पौडेल यही २०७८ मङ्सिर १० गतेदेखि उमेरहदका कारण सेवानिवृत्त बन्नुभएको हो ।

Comments
Loading...