एमसीसीमा रहेका नेपालको अहित हुने प्रावधान हटाउनुपर्दछ:सहमहामन्त्री परियार

हिमाली आवाज । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहमति जनाएपछि मात्र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी))संसदबाट पारित हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आगामी संसद बैठकमा एमसीसी टेवल हुने सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा उहाँले सबै दलसँग परामर्श गरेर संसदबाट पारित हुने गरी छलफल गरेरमात्र काँग्रेसले एससीसीको प्रश्ताव अघि बढाउने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“नेपालको अहित हुने गरी कुनै किसिमका प्रावधान एमसीसी सम्झौतामा छन् भने त्यसलाई हटाउनुपर्दछ । त्यसमा हाम्रो पार्टी काँग्रेस अत्यन्त प्रतिवद्ध छ । कमजोरी भएका छन् भने,ती शब्दाबली र बुँदा हटाएर सबै दलहरुसँग परामर्श गरेर संसदबाट पारित हुन सक्ने गरी काँग्रेसले अगाडि बढाउँछ ।”एमसीसीका सम्वन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग समेत छलफल गरिने र सहमति जुटाइने उहाँले बताउनुभयो ।

राष्ट्रिय महाधिवशेनपछि काँग्रेसको ध्यान आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुने बताउँदै महामन्त्री परियारले पार्टीको संगठनलाई केन्द्रदेखी वडातहसम्म कसरी चलायमान र संगठित बनाउने भनेर योजना बनाइने जानकारी दिनुभयो ।

काँग्रेस लोकतान्त्रिक र लोकतान्त्रिक मुल्यमान्यतामा विश्वास गर्ने पार्टी रहेको र विधिसम्मत ढंगले चल्ने भएकाले वडादेखी केन्द्रसम्म निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिएको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो,“अहिले पार्टीमा नेतृत्व चयनको अधिवेशन गरेका छौँ । अब बैचारिक र सांगठनिक रुपमा कसरी पार्टीलाई अघि बढाउने भन्ने दस्तावेज केन्द्रीय कार्यसमितिले प्रश्ताव गरेर महासमितिको भेलाबाट पारित गरेर अघि बढ्न जरुरी रहेको ।”

पार्टीभित्र विचारको बहस आवश्यक रहेमा जोड दिँदै नेता परियारले त्यो विचारको बहस विना सैद्धान्तिक विचारमा स्पष्टता नआएसम्म पार्टीले दृष्टिकोण अगाडि बढाउन नसक्ने उल्लेख गर्नुभयो ।

केन्द्रीय कार्यसमितिले पार्टीको स्पष्ट दृष्टिकोण सहित अघि बढ््ने र आगामी दिनमा आम निर्वाचनमा जनताकाबीचमा पहिलो पार्टी भएर स्थापित हुने महामन्त्री परियारले उल्लेख गर्नुभयो ।

Comments
Loading...