एकीकृत समाजवादीको पोखरामा कार्यकर्ता प्रशिक्षण,मेरो उपस्थितिले केपी ओलीको सातो गएको छ:अध्यक्ष नेपाल

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उहाँले माधव नेपाल उपस्थिति हुने कार्यक्रममा सहभागी नभएर ओलीको सातो गएपनि आफूलाई केही फरक नपर्ने तर जनतामा सातो जान नदिने बताउनुभयो ।

कानूनको शासन पालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरुले सर्वोच्चको अदालतको फैसला स्वीकार गर्नुपर्नेउल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो,“ केपी ओलीले किन कारबाही नगरेको भनेर सभामुखलाई धारे हात लगाउन पाउँछन् ? सभामुखज्यू तपाईँ एक्लो हुनुहुन्न,तपाइको साथमा हामी पनि छौँ ।दृढताका साथ अगाडि बढन्ुहोस् ।”

दक्षिपन्थी प्रवृत्तिमा भासिँदै जाने, व्यक्तिवादी प्रवृत्तिमा चुर्लुम्म डुब्दै गुटबादमा फस्ने र निरङ्कुस प्रवित्तिका विरुद्ध तत्कालीन एमाले पार्टीबाट विद्रोह गरेर कम्युनिष्ट आन्दोलन जोगाउन र बचाउनका कानूनको आधारमा साहसिक कदम चालिएको उहाँले स्पष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्दै मार्कस्वाद र लेनिनवादप्रति पूर्ण प्रतिवद्ध रहेर कम्युनिष्ट मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गरी बेतिथि, गरीबीलाई समाप्त गरेर सुन्दर समाजको निर्माणमा आफ्नो पार्टी लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“भिन्न चरित्रको पार्टी बनाउने, क्रान्तिकारी चरित्र, सुसंस्कार बोकेको ,आदर्शप्रति प्रतिवद्ध, निष्ठाको राजनीति गर्ने जनताको सेवाको भावनाबाट उत्प्रेरित पार्टी बनाउनका लागिनै आफैँले यसअघि बनाएको पार्टीबाट विद्रोह गर्नुपरेको हो । ”

राजतन्त्रको स्थानमा ओलीतन्त्र देखा परेको टिप्पणी गर्दै अध्यक्ष नेपालले पाँचदलको अहिलेको गठबन्धन ओलीतन्त्र र निरङ्कुशता विरुद्ध बामपन्थी र लोकतान्त्रिक मुल्य मान्यता आत्मसात् गरेका पार्टीहरु एक ठाउँमा उभिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,“ओली प्रवृतिसँग जुधेर मात्र सत्यको रक्षा गर्न सकिन्छ । न्यायको जीत हुनसक्छ र इतिहास अघि बढ्छ । जनताले स्वतन्त्रता र कार्यकर्ताले लोकतान्त्रिक परिवेश प्राप्त गर्न सक्दछन्,हामीले अवलम्वन गरेको सिद्धान्त यही हो ।”

आफ्नो पार्टी र नेताहरुलाई छुवाछुतको व्यवहार गर्ने ओली समूहले संविधान र संसदीय मर्दादाको समेत उल्लङ्घन गरेको भनाई नेता नेपालको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले गण्डकी प्रदेशमा आगामी दिनमा एकीकृत समाजवादीलाई पहिलो पार्टीका रुपमा स्थापित गरिने बताउनुभयो ।अहिलेका मन्त्रीपरिषद्का सदस्यहरुले जनमुखी काम गरेको उहाँले उल्लेख गर्नुभयो ।

Comments
Loading...