गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ गण्डकी प्रदेश खुलातर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुनुभएको हो । प्रदेशबाट पुरुष खुलामा २ जना निर्वाचित हुनेमा मुख्यमन्त्री नेपालीसँगै तनहुँका ध्रुव वाग्ले हुनुहुन्छ ।

वाग्लेले २ हजार ७ सय २० मत प्राप्त गर्दा मुख्यमन्त्री नेपालीले २ हजार ३ सय ६ मत ल्याएर विजयी हुनुभयो । चुनावी मैदानमा उत्रिनुभएका शोभियतबहादुर अधिकारीले २ हजार ३४ र रेशमबहादुर बानियाले १ हजार ९ सय ३८ मत ल्याउनुभयो । अधिवेशनमा ४ हजार ६ सय ६४ मत खसेको थियो ।

विजयी भएलगत्तै प्रतिक्रिया दिँदै मुख्यमन्त्री पोखरेलले अहिलेका महाधिवेशनको म्यान्डेट नै युवा पुस्तालाई अगाडि बढाउने रहेकाले युवा पुस्ता र पुराना पुस्ता बीचको अन्तरसंवाद कायम गरी अग्रज पुस्ताका अनुभव र सिकाईलाई नयाँ पुस्तामा हस्तान्तरण तथा पुस्तान्तरण गर्न लागीपर्ने बताउनुभयो ।

पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र हिमाल, पहाड तथा तराईका समग्र कार्यकर्तामा रक्तसञ्चार गर्न भरमग्दुर काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

पोखरेल कांग्रेसको तर्फबाट देशको पहिलो मुख्यमन्त्री हुनुहुन्छ । दलको नेतृत्वमा सरकार निर्माण गर्ने वातावरण बनाउन र संघीयता कार्यान्वनमा गर्न अहम् भूमिका खेलेका व्यक्ति पोखरेललाई जिताउन सहयोग गर्नुहुने सम्पूर्णमा मुख्यमन्त्री पोखरेलले आभार व्यक्त गर्नुभयो ।

मंसिर २४ गते सुरु भएको कांग्रेसको महाधिवेशन गण्डकी प्रदेशको मतपत्र मंगलबार मात्र गन्न थालिएको हो । मुख्यमन्त्री पोखरेल १२ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

Comments
Loading...