विद्यालय बन्द बारेमा निर्णय लिन शिक्षा मन्त्रालयको आज बैठक बस्दै

काठमाडौँ । कोेरोना संक्रमणको सम्भावित तेस्रो लहर रोकथामका लागि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेसँगै यसका बारेमा निर्णय गर्न आज शिक्षा मन्त्रालयको बैठक बस्ने भएको छ ।

कोभिड १९ को संक्रमण बढेसँगै सरकारले आधारभूत तथा माध्यमिक तहका विद्यालयमा आगामी १५ माघसम्म भौतिक कक्षा बन्दको सिफारिस भएपछि मन्त्रालयले यसका बारेमा निर्णय लिनेछ ।

जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिडबारे बिफ्रिङको तेस्रो दिन बसेको सिसिएमसिसीको बैठकको १३ बुँदे निर्णयअनुसार थप निर्णय गर्न आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक बस्दैछ ।

सिसिएमसिसीकै निर्णयका आधारमा विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे आज विस्तृत छलफल गरेर निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

Comments
Loading...