आहा रारा गोल्डकप फुटबलको २० औँ संस्करण माघ ६ देखी, १० टोलीको सहभागिता

हिमाली आवाज । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २० औं संस्करण आगामी माघ ६ देखी १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।

‘खेलकुद विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्धेश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित सो प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, आयोजक सहारा र एक विदेशी सहित १० टोलीको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा नेपालका ‘ए डिभिजन क्लब’हरु सङ्कटा फुटबल क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ्ग मर्स्याङ्गदी क्लब र सहारा क्लब पोखराको सहभागिता रहने क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले जानकारी दिनुभयो ।

अघिल्लो संस्करण नेपालको ए डिभिजन क्लब सङ्कटाले उपाधि जितेको थियो भने उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो ।विसं २०५५मा स्थापना भएको सहारा क्लब पोखराले आयोजन गर्ने यस प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

प्रतियोगितामा कूल अनुमानित आम्दानी रु एक करोड ३६ लाख एक हजार र अनुमानित खर्च रु एक करोड छ लाख ४८ हजार ५०० रहेको क्लबले जनाएको छ ।

क्याराभान गोल्ड कप सहित यस प्रतियोगिता २१ वर्ष देखी निरन्तर सञ्चालित छ । प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित ‘सूर्य बहादुर केसी’ स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिदै आइएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

हाल तेश्रो व्याचको रुपमा सो एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विसं २०६१ देखी आश्रित बालकहरुको भरणपोषण आवासीय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण लगायतका कार्य क्लबले गर्दै आएको छ । एकेडेमीको सञ्चालनको मुख्य श्रोतनै प्रतियोगिता रहेको छ ।

गत वर्ष सम्पन्न प्रतियोगिताबाट कूल आम्दानी रु ७६ लाख ५० हजार ६४७ र खर्च रु ६३ लाख एक हजार १९९ भएको र रु १३ लाख ४९ हजार ४४७ बचत भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

Comments
Loading...