पोखरामा टाइगर कप क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

हिमाली आवाज । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय खेल भलिबलको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा आजदेखी पोखरामा सुरु भएको ‘दोस्रो टाईगर कप आमन्त्रित’ क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश र राजधानी सहर पोखरालाई खेलकुदको ‘हब’का रुपमा विकास गर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“गण्डकी प्रदेशलाई हामी धेरै कुरामा सम्पन्न मान्दछौँ । प्रदेशलाई विभिन्न विधाको केन्द्र रुपमा विकसित गर्ने लक्ष्य छ । त्यसमा पनि प्रमुख लक्ष्य यो प्रदेश र राजधानीलाई पोखरालाई अन्तर्राष्ट्रिय रुपमा खेल केन्द्रका रुपमा अगाडि बढाउन चाहन्छौँ ।”

मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा लोकप्रिय भलिबल खेललाई राष्ट्रिय स्तरमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरेकामा उहाँले आयोजकलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
प्रदेश सरकारले आफ्नो क्षमता अनुसार खेलाडीलाई सुविधा उपलव्ध गराउने र रङ्गशालाको स्तरोन्नतिका लागि काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष निरोज मास्केले सरकारले खेलाडी तथा खेल पूर्वाधारका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सम्पन्न पहिलो दिनको खेलमा पुरुषतर्फ डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशले ससस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि सोझो सेटको जित निकालेको छ । गण्डकीले २५–१७,२५–२२ र २५–१७ को सेटमा एफिएफलाई पराजित गर्दै सुखद् सुरुआत गरेको हो ।

पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले हेल्प नेपाल स्पोर्टस क्लबमाथि जित दर्ता गरेको छ । महिलातर्फ सशस्त्र प्रहरीको एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गरेको छ ।

पहिलो दुई सेट २६–२४ र २५–१८ ले जितेको एफिएफले तेश्रो सेट भने २३–२५ ले गुमाउन पुग्यो । तर चौथो सेटमा एपिएफले २५–२३ ले जित्दै अङ्क बटुल्न सफल भएको छ । महिलाको अर्को खेलमा होङ्गाजी न्यु डायमण्डले त्रिभुवन आर्मीमाथि २५–१७, २५–२३, १३–२५ र २५–१७ को सेटमा जित दर्ता गरेको छ ।

आगामी माघ १ गते सम्म राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ ।
प्रतियोगितामा महिला तर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लब, नेपाल पुलिस र ससस्त्र प्रहरी बल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहेको छ ।

पुरुषतर्फ विभागीय टिमहरु नेपाल आर्मी क्लब,नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी क्लबको एपिएफ क्लब सहित टिपटप हेल्पलाईन स्पोर्टस क्लब र गण्डकी प्रदेश टिमको सहभागिता रहेको टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फको बिजेतालाई ट्रफी सहित रु तीन÷तीन लाख, उपबिजेता महिला तथा पुरुष टोलीलाई समान रु एक लाख ५० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

तृतीय हुने टोलीलाई समान रु ७५÷७५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने महिला÷पुरुष दुबै टिमलाई समान रु २५÷२५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई जनही रु १० हजारका दरले पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Comments
Loading...