कानून बमोजिमनै नारायणहिटी, पशुपति लगायतमा काम गरेका छौँ : अध्यक्ष आनन्द बतास

हिमाली आवाज । बतास अग्रनाइजेशनले आफ्ना विरुद्ध विभिन्न छापा तथा विद्युतीय सञ्चार माध्यममा प्रकाशित प्रशारित सामग्री कपोलकल्पित र भ्रामक रहेको दावी गरेको छ ।

बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले आज एक प्रेस विज्ञप्ति जारी गरी कतिपय सञ्चारमाध्यमको पक्षपातपूर्ण हर्कतबाट नेपालका उद्यमी, व्यवसायी पीडित भएको बताउनुभयो ।

विज्ञप्तिमा नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया भाडा, नेपाल भारतमैत्री पशुपति धर्मशाला र पाटन दरबारक्षेत्र, मानहुँकोट, गण्डकी कृषि सामाग्री केन्द्र लगायतमा आफूहरुले कानून बमोजिम कार्य गरेको दावी गरिएको छ ।

‘यसक्रममा नियम, ऐन, कानुनको कहीँ कतै उल्लंघन नगरिएको हामी स्पष्ट पार्न चाहान्छौं । यदि त्यस्तो भएको ठहर भएमा कानुनले तोकेको अधिकतम् कारवाहीको भागिदार बन्न हामी तयार छौं।’ विज्ञप्तिमा भनिएको छ ।

नारायणहिटी दरबार परिसरमा बन्ने क्याफ्टेरिया वरिपरिको क्षेत्रहरूमा वातावरण सुधार गरी सौन्दर्यीकरण गरी हावाहुरीबाट बचाउन आवश्यक परेमा अस्थायी संरचना निर्माण गर्न सक्ने भनि शर्तमा उल्लेख गरिएको अध्यक्ष बतासले बताउनुभयो ।

यसैगरी पशुपति धर्मशाला भाडामा दिने जिम्मेवार निकाय पशुपति विकास कोषलाई किन धर्मशाला भाडामा दिइएको भनेर प्रश्न गर्नुको सट्टा आफ्नो व्यवसायिक धर्म निभाउँदै धर्मशाला भाडामा लिई सञ्चालन गर्ने व्यापारिक कम्पनीलाई अनेकौँ कपोकल्पित र भ्रामक आरोपहरुसहित बदनाम गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Comments
Loading...